बुटवल,जेठ १४-
बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ । आईसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जोगाउन नर्सहरु छतबाट हाम्फालेका थिए ।
जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।
मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ ।
पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।
रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए। एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो।
उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्। देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)