बुटवल,बैशाख १४-
सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।
देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।
हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरे-नगरेको निगरानी सम्बन्धित निकायले गर्नेछ । प्रतिकूल अवस्था आए जुनसुकै बेला हवाइ उडानबारे थप निर्णय गर्न सकिने उनको भनाइ छ ।
यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने । अर्थात् काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।
उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)