बुटवल,चैत्र १७-
मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ ।
प्रदर्शनपश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयमार्फत बुझाइएको सभापति गोविन्द खनालले नागरिक अनलाइनलाइ बताए ।
खनालले भने-‘मानव अधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’
प्रदर्शनमा म्यानमारः सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर लक्ष्मी, उमा गौतमसहित ५५ भन्दा बढी अधिकारकर्मीको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)