बुटवल,चैत्र १०-
सरकारले महँगा गाडी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयको सूचना सोमबारको राजपत्रमा प्रकाशित भएको छ । मुलुकमा कोभिड महामारी सुरु भएपछि गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।
२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।
यस्तै प्रतिबन्ध हटेपनि परिणात्मक बन्देजको परिमाण नखुलेको केराउ, मरिच, सुपारी र छोकडा सम्बन्धमा पनि राजपत्रले प्रष्ट्याएको छ ।
सूचनाअनुसार अब एक जना व्यवसायीले वार्षिक ८० हजार मेट्रिक टन केराउ आयात गर्न पाउने छन् । सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइनेछ भने नधुल्याइएको मरिच एक जना व्यवसायीले एक वर्षमा १५ हजार मेट्रिक टन आयात गर्न पाउने छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)