बुटवल,फागुन ८-
पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई पाँच लाख राशीको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ।
रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा पाँच–पाँच लाख र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो ।
पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेवापत रिजाल र शिवाकोटीलाई अवार्ड प्रदान गरिएको हाे। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले पत्रकारद्वय रिजाल र शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरे। रिजाल आर्थिक दैनिकका प्रधानसम्पादक एवम् प्रकाशक तथा शिवाकोटी हाम्राकुराडटकमका प्रधानसम्पादक हुन्।
सोही समारोहमा अध्यक्ष मेहताले १३ जनालाई कदरपत्रसहित २५ हजार राशिको ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरे। दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई रोटरी गतिविधि प्रवद्र्धन, पुष्पराज आचार्यलाई आर्थिक पत्रकारिताको विकास, अन्नपूर्ण पोष्ट दैनिकका टीका बन्धनलाई वातावरण पत्रकारिता, न्यूजकारोबारडटकमका दीपेन्द्रप्रसाद सिंहलाई शिक्षातर्फ, स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गरेकामा रेडियो सगरमाथाकी सम्झना महर्जन र महिला सञ्चारकर्मीतर्फ नेपाल टेलिभिजनकी विनिता रिजाललाई उनले उक्त पुरस्कार प्रदान गरे।
यसैगरी प्रदेश नं १ बाट नेपाल टेलिभिजनकी विनु तिम्सिना, प्रदेश नं २ बाट आवाज एमएमका श्याम बञ्जारा, वाग्मती प्रदेशबाट जनता टेलिभिजनकी कमला हमाल, गण्डकी प्रदेशबाट अन्नपूर्ण एफएमका दीपेन्द्र श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नयाँ युगबोध दैनिककी लक्ष्मी आचार्य, कर्णाली प्रदेशकबाट जाजरकोटका कान्तिपुर दैनिकका स्थानीय समाचारदाता भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट कैलालीकी उन्नति चौधरीलाई पनि अध्यक्ष मेहताले उक्त पुरस्कार प्रदान गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)