बुटवल,फागुन ४ -
विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक रुपन्देहीमा शुरु भएको छ ।
समितिका १ सय ८ केन्द्रीय पदाधिकारी, सदस्यसहितको देशभरका प्रतिनिधिहरुको मंगलबारदेखि स्वामीनारायण मुक्तिनाथ धाममा बैठक शुरु भएको हो । बैठकमा बोल्ने सहभागीहरुले नेपालमा हिन्दु राष्ट्र फर्काउन एकमत रहेको दाबी गरेका छन ।
धामका पिठाधिस १००८ लोकानन्द स्वामीले उद्घाटन गर्दै ब्यक्ति,समाज हुँदै विश्व संचालन गराउने वैज्ञानिक विधिका रुपमा हिन्दु शिक्षा महत्वपुर्ण रहेको बताए ।
आध्यात्मिक चिन्तनबाट नै समाजमा परिवर्तन आउने दाबी गर्दै उनले सनातन हिन्दु वैदिक शिक्षा प्रदान गर्ने गुरुकुल बनाउने गरि योजना ल्याउन सुझाव दिए ।धर्म र संस्कृति संरक्षणमा अन्तराष्ट्रिय संस्थाका रुपमा रहेको महासंघलाई अगाडी बढाउन समेत शुभकामना दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संघीय सांसद देवेन्द्र राज कंडेल, केन्द्रीय उपाध्यक्ष बेनबहादुर पौडेलले हिन्दुराज्य फर्काउने मुख्य उदेश्य अनुरुप आफुहरु एकमत भएर अघि बढ्ने बताए । विश्वमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बी रहेको दाबी गरे ।
हिन्दुराज्य निर्माणका लागि मेचिमहाकाली जागरण अभियान चलाउने एजेन्डालाई अगाडी बढाएको महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए ।
कार्यक्रममा सचिब रामचन्द्र तिवारी,केन्द्रिय सदस्य डिल्लीप्रसाद शर्मा आचार्य लगायतले बोल्दै नेपाललाइ हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)