बुटवल,बैसाख १७ ।
भिजन लुम्बिनी लिमिटेडले तिनाउ खोलामा ३.४४ मेगावाटको नम : बुद्ध हाइड्रोपावर बनाउने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका झुम्सा नजिकैको तिनाउ खोलामा ७० करोड लागतमा आयोजना बन्न लागेको हो ।
यो आयोजना करिब १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तिनाउ खोला साना जलबिद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुदैछ ।
आयोजना र लुम्बिनी विकास बैंकसँग लगानी सम्झौता गरी लगानी स्रोत सुनिश्चितता भइसकेको भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोख्रेलले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताउनुभयो । यसमा बैँक र संस्थाको ५०–५० प्रतिशत लगानी रहनेछ ।
आयोजनामा लगानी गर्न पोखरेलले पाल्पा तथा रुपन्देहीबासीलाई आग्रह पनि गर्नुभयो । ‘यो आयोजना यस क्षेत्रका जनताको हो’, पोखरेलले भन्नुभयो– ‘बुटवलबासीलाई लगानी गर्न यो आयोजना अवसर पनि हो । छिटो सम्पन्न भएर यो आयोजना सञ्चालनमा आउनेछ,हामीले यसअघि बिभिन्न प्रकारका १२ वटा आयोजनाहरु सफल बनाइसकेका छौँ ।’
भिजन लुम्बिनी लिमिटेडको हालको लगानी करिब १४ करोड छ । राइट शेयर र आइपिओ खोल्ने तयारी गरिएको छ भने यसपछि भिजनको पूजी ५१ करोड पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ । हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएर अब निर्माणको शिलान्यास मात्रै बाँकी छ ।
भिजनले केहिसमय अगाडि पोखरा कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । भिजनले बज्रमादी ३१ मेगावाट,चमेलिया २० मेगावाट लगायत अहिले १२ वटा ठूलो प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ । लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले महाकाली र कर्णालीमा पनि ठूला हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताउनुभयो ।
साना–साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको छ । भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी, कृषि, शिक्षा, इन्स्योरेन्स, बित्त, रियल स्टेट र आईटी क्षेत्रमा समेत लगानी गरिसकेको छ ।
२०७३ सालबाट शुरू भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजेको संचालक कुलबहादुर केसीले बताउनुभयो । कार्यक्रममा लगानीकर्ता योगेश घिमिरे,अनुपमान सैजू,गोबिन्दप्रसाद लामिछाने,भिजन लुम्बिनीकी ब्यवस्थापक सरस्वती पोखरेल लगायतले बोल्दै आयोजनाका लागि सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)