बुटवल,माघ २२-
अवैध साल कटानी निकासी गर्दै गरेका ७ जना जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा पाल्पाको बल्ढेङ्गगढीबाट डिभिजन वन कार्यालय पाल्पाले उनीहरुलाइ पक्राउ गरेको हाे ।
पछिल्लो समय अवैद्य रुपमा सालका रुख कटानी भएको जानकारी आएपछि डिभिजन वन कार्यालय पाल्पाले बुधबार राती विशेष अप्रेसनका क्रममा रैनादेवी छहरा गाउँपालिका वडा नं ७ बल्ढेङ्गगढीको ढावबाट ५ जना पुरुषलाई रंगेहात प्रकाउ गर्न सफल भएको हो ।
६० जनाले घेरा हालेर उनीहरुलाइ छाेपिएको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले नागरिक अनलाइनलाइ बताए ।पोखरेलले भने-‘वनमै खाने बस्ने रहेछन्, बन्दाेबस्तिका सामान सहित उनीहरुलाई धेरै प्रयास पछि छाेपेका हाैँ,५ जना रंगेहातर अनुसन्धानपछि थप २ जना छाेप्याैँ,३ जना भने फरार भए ।’
बल्ढेङ्गगढीका सहायक वन अधिकृत बेदप्रसाद भण्डारी,प्रदेशी चौधरीको कमान्डमा खटिएको टोलिले रातीको साढे एक बजे चन्द्राकार सामुदायिक वनको क्षेत्रमा अवैध रुपमा सालका रुख काट्दै गरेका रुपन्देही सैनामैना नगरपालिका ९ का ४३ वर्षीय मनीराम विश्वकर्मा, सोही स्थानका ३४ वर्षीय अजय मगर, ३५ वर्षीय गोवीन्द विश्वकर्मा, ३५ वर्षीय सम्भु विश्वकर्मा तथा ३३ वर्षीय दीपक विश्वकर्मालाई प्रकाउ गरेको पोखरेलले नागरिक अनलाइनलाइ बताए ।
यस्तै अनुसन्धानका क्रममा कटानी गरिएका सालको फर्निचरमार्फत विक्रि गर्दै आएका दुईजना फर्निचर उद्योगीलाई समेत पक्राउ गरिएको रेन्जर पोखरेलले बताए ।
पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिकाका श्रीस फर्निचरका मान बहादुर सिरिष तथा भानु फर्निचरका संचालक भानुभक्त पाण्डेय रहेका छन् ।पक्राउ परेका सातै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको अदालतबाट म्याद थप गरि कानुनी प्रकृया अनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।
गस्ती पेट्रोलिङ्गका क्रममा इजाजत विना कटान गरि चिरान गर्दै गरेको अवस्थामा ६९.५४ क्विफिट सालको गोलिया र चिरान काठ,आरा,बन्चरो र बन्दोबस्तीका सामानहरु समेत बरामद गरिएको छ ।
टाचा निशाना नलागेको काठ तथा निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
यसरी अवैध रुपमा काटिएका साललाई निजहरुले फर्निचर उद्योगमा निर्यात गर्ने तयारी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको हुँदा उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गरिने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)