भैरहवा, भदौ ८।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा जनमत पार्टीको जीत सुनिश्चित रहेको दावी गर्नुभएको छ ।
उहाँले आफूहरुले निर्वाचनमार्फत अधिकारबाट वञ्चित सम्पूर्ण समुदाय एक छौैं भन्ने सन्देश दिने बताउनुभयो ।
जनमत पार्टी रुपन्देहीले आइतबार सियारी गाउँपालिका–३ स्थित हर्नैयामा आयोजना गरेको बृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डा. राउतले यस्तो बताउनुभएको हो । उहाँले संसद्मा जनमत पार्टीले अडान लिदा पार्टीमाथि आक्रमण र फुटाउने प्रयास समेत भएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका डा. राउतले थारु, मुसहरलाई भूमि र अधिकार दिलाउन बाँकी रहेकोले आफू राजनीतिमा आएको बताउनुभयो । उहाँले माग पूरा नभएसम्म आफू चुप लागेर बस्न नसक्ने बताउनुभयो ।
उहाँले थारु समुदायको प्रेरणाले आफू राजनीतिमा आएको बताउनुभयो । उहाँले आन्दोलन सकिएको नभइ एकदमै गम्भिर मोडमा पुगेको बताउनुभयो । अध्यक्ष डा.राउतले सबै एकजुट भएर शासन–सत्ताको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले संसद्, सडक, निर्वाचन सबै मोर्चामा थारु, मधेशी, मुस्लिम, आदिवासी जनजाति सबै एकैसाथ उभिनुपर्ने र त्यही प्रयासमा आफू लागेको बताउनुभयो ।
त्यस्तै पार्टीका उपाध्यक्ष दान बहादुर चौधरीले जनमत पार्टी जनताको मुद्दा बोक्ने पार्टी भएकाले रुपन्देही–३ मा यसपटक जनमतलाई जिताउन आग्रह गर्नुभयो ।
जनमत पार्टीका सचिव भोपेन्द्र प्रसाद यादवले काँग्रेस, एमाले र माओवादी नेतृत्वको सरकार जनताले पटकपटक देखिसकेकोले जनमत पार्टीलाई एकपटक मौका दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष बाल गोविन्द चौधरी, लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, केन्द्रीय कार्यकारिणी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ता, केन्द्रीय सदस्य रामदेव यादव, कृष्ण कोहारलगातले बोल्नुभएको थियो ।
कार्यक्रममा गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका धनीराम चौधरीसहित नेता–कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
थारु कल्याणकारी एवं थरुहट संघर्ष समितिका प्रदेश सचिव कमलनारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)