Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको जितगढी युद्ध सङ्ग्रहालय,बजेट अभावले अलपत्र !

बुटवलको जितगढी युद्ध सङ्ग्रहालय,बजेट अभावले अलपत्र !

  • 1.8K
    SHARES

  • बुटवलको जितगढी युद्ध सङ्ग्रहालय,बजेट अभावले अलपत्र !

    बुटवल,जेठ ३१।

    बुटवल उपमहानगरपालिका वडा नं. १ मा निर्माण गरिएको जितगढी युद्ध सङ्ग्रहालयको पूर्णताका लागि बजेट अभाव भएको छ । भवन निर्माण सकिए पनि सङ्ग्रहालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै करिब १३ करोड रकम आवश्यक देखिएको छ ।बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले युद्ध सङ्ग्रहालय पूर्णताका लागि बजेट अभाव भएको बताउनुभयो ।

    ‘सङ्ग्रहालयको लागि भवन त बनेको छ तर, त्यहाँ जाने पर्यटकहरूलाई हेर्न सङ्ग्रहालयभित्र केही पनि छैन,’ वडा अध्यक्ष बस्नेतले भन्नुभयो । सङ्ग्रहालयको योजनालाई पूर्णता दिन बजेट अभाव भएको उहाँले बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाको वडा नं. १ मा पर्ने जित गढी तिनाउ नदीको बायाँ किनारमा छ । इतिहास अनुसार जित गढीमा वि.सं.१८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इन्डिया कम्पनीबिच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । 

    युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इन्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ । १८७१ देखि १८७२ सम्म नेपाल÷अङ्ग्रेजका बिचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापानेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन ।

    बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अङ्ग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमान्डर क्रोकरको नेतृत्वको अङ्ग्रेज फौजलाई नेपाली सेनाको कर्णेल उजिर सिंह नेतृत्वको फौजले पराजित गरेको थियो । जनरल उडकै नेतृत्वमा यहाँ दुई पटक आक्रमण भएका थिए । आक्रमणमा बुटवलमा रहेको मणि मुकुन्द सेनको शीतकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अङ्ग्रेज फौजमाथि आक्रमण गरीविजय प्राप्त गरेका थिए ।

    अङ्ग्रेजतर्फ आधुनिक हतियार र तालिमप्राप्त फौज थियो भने नेपाली सेनातर्फ घरेलु हतियार र बच्चा बोकेका महिला सहितको फौज थियो । जित गढीमा तिन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा३ सयभन्दा बढी अङ्ग्रेज सैनिकको मृत्यु भएको थियो । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोसी–टिस्टा र बुटवल जित गढीमा अङ्ग्रेज फौजसँग लडाइँ भयो ।jeetgadi yuddha.jpg

    बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । कर्णेल उजारसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरेको त्यही वीरताको चिनो हो बुटवलको जित गढी किल्ला । जसले अहिले पनि नेपाल-अङ्ग्रेज युद्धलाई सम्झाउँछ । कर्णेल उजारसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय प्राप्त गरेको त्यही वीरताको चिनो जित गढी किल्लामा युद्ध लड्दाको झलक सहित नेपाल र अङ्ग्रेज फौजका प्रतिमा निर्माण गरिएका छन् ।

     अङ्ग्रेजसँग युद्ध लड्दा प्रयोग गरिएका हतियार, युद्ध कला, पहिरन, रेसम मार्गको बटौली, नुन र घिउको कारोबार हुने बटौली तथा सांस्कृतिक सहर बटौलीको झल्को दिने गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

    चार तलाको सङ्ग्रहालय भवनमा पहिलो, दोस्रो, तेस्रो तलामा सङ्ग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे बनाइने योजना छ । सङ्ग्रहालय निर्माणको योजना बुटवल उपमहानगरपालिकामा निर्वाचित अघिल्लो नेतृत्वले अगाडी सारेको थियो । उपमहानगरपालिकाका यसअघिका नगरप्रमुख शिवराज सुवेदीले २०७७ चैत्र ४ गते सङ्ग्रहालयको शिलान्यास गर्नुभएको थियो ।

    नेपालको वीरताको इतिहाससँग जोडिएको जित गढीको संरक्षण र सम्वद्र्धन गर्दै बुटवलको पर्यटन विकासका लागि भन्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएरै जित गढीको विकासका काम गरिरहेको छ । जितगढी लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृष सुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणशूर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीर मन्जन पाँडे, समसेर राना मगर र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

    जितगढी परिसरमा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजारसिंह थापा र शहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको अर्ध कदका सालिक निर्माण गरिएका छन् । पिठ्युँमा बालबालिका बोकेर युद्धमा सहभागी नेपाली महिला सहित नेपाली र अङ्ग्रेज फौजबिच भएको युद्धको झल्को दिने गरी प्रतिमाहरू निर्माण गरिएका छन् । गुरुयोजना अनुरूप अहिले जित गढीमा कर्णेल उजारसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरिएको छ भने ५५ फिटको टावरमा राष्ट्रिय झन्डा फहराइएको छ । गुरुयोजना अनुरूप सङ्ग्रहालयको काम पुरा गर्न भने अझै बजेट अभाव भएको छ । ‘भवन रित्तो भूत बङ्गाला भयो ,भित्र बाँदरले खतम पा¥यो,’ वडाध्यक्ष बस्नेतको गुनासो छ । ‘हामीलाई स्थानीयले सधैँ यही प्रश्न गर्नुहुन्छ,तपाइहरूले पनि मिडियाबाट निरन्तर खबरदारी गरिदिनुपर्छ, जनताका कुराहरूलाई लेखिदिनुपर्छ,’ उहाँको भनाइ थियो ।

    बुटवल उपमहानगरपालिकाले जितगढी सङ्ग्रहालयको योजनालाई प्राथमिकतामा राखेको भए पनि सीमित श्रोतलाई बुटवलवासीका असीमित योजनाहरूमा विनियोजन गर्दा बजेट अपुग भएको जनाएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरानो बटौली बजारको संरक्षणसँगै सो क्षेत्रका हरेक संरचनाको संरक्षण र विकासका लागि अहिलेको पारि बुटवललाई प्राथमिकतामा राखेर योजना बनाएको र कतिपय पूरा भई प्रक्रियागत ढङ्गले अगाडि बढेको बताउनुभयो ।

    उहाँका अनुसार सङ्ग्रहालयको बाँकी काम अघि बढ्ने छ । ‘पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रूपमा विकास गर्न हामी लागि परेकै छौँ, बजेट अभाव हुने छैन, हामीले सक्दो व्यवस्थापन र पहल गरेकै छौँ,’ प्रमुख पाण्डेयको भनाइ रहेको छ ।

    ‘हामीले निर्वाचनकै बेला पनि हरेक जाति र समुदायको भाषा, धर्म, संस्कृति तथा विशिष्ट पहिचान स्थापित गर्दै मठ, मन्दिर, गिर्जाघर, गुम्बा, मस्जिदलगायत अन्य धार्मिक धरोहरहरूको संरक्षण गरिने छ भनेर घोषणापत्रमै लेखेका थियौँ त्यो भन्दा दायाँबायाँ गएका छैनौँ,’ प्रमुख पाण्डेयको भनाइ रहेको छ । उपमहानगरपालिकाका अनुसार निर्माण कम्पनी शिव शक्ति कन्स्ट्रक्सन प्रालि बानेश्वर काठमाडौँले २०७७ साल माघ २६ गते ठेक्का लिएको २०७७ साल चैत्रमा सङ्ग्रहालय निर्माण सुरु र २०८० असार १० गते निर्माण सम्पन्न गरी बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

     राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रूपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रूपमा लिँदै सोहीअन्तर्गतको एउटा कामका रूपमा सङ्ग्रहालयलाई अगाडि बढाइएको हो । बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजना अनुरूप सङ्ग्रहालय बने पनि हाल यसको उपयोगिता हुन सकेको छैन भने पूर्णता नपाउँदा भवन जीर्ण बन्ने खतरा बढेको छ ।

    jeetgadhi _sanghahalaya_butwal.jpg

    भवन बाहिरको संरचना र मूल भवन निर्माण भैसकेको भए पनि बजेटको श्रोत सुनिश्चित हुन नसक्दा भवनभित्र निर्माण गरिने प्राचीन सामग्रीहरू, आन्तरिक व्यवस्थापन, जनशक्ति व्यवस्थापन, हातहतियार लगायत युद्ध सामग्रीहरू, तत्कालीन अवस्थाको पहिरन र परिवेश लगायत राख्न नसकिएको उपमहानगरपालिकाले जनाएको छ । बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा चार तलाको सङ्ग्रहालय बनाइएको हो । यसको गुरुयोजना अनुरूप पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहने, तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरू राखिएको शोभिनियर शप रहने भनिएको थियो ।

    करिब ६ करोड ८२ लाख ५० हजार २ सय ५६ रुपैयाँ बराबरको लागतमा सङ्ग्रहालय भवन निर्माण भएको हो । बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउन यसको महत्व रहने संस्कृतिबिद देवेन्द्रराज शाक्यको भनाइ छ ।बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत्तर बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको सङ्ग्रहालय निर्माण गरिए पनि पूर्णता नहुँदा स्थानीय निराश भएको उहाँको भनाइ छ ।

    निर्माण कम्पनी शिव शक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समयमा निर्माण गरिएको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जित गढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी सङ्ग्रहालय निर्माण हुनु गौरवको कुरा रहेको वडा न १ का जनप्रतिनिधि वडा सदस्य अशोक राईले बताउनुभयो ।

    ‘यसलाई सबैको पहलमा संचालनमा ल्याउनुपर्छ,हामी स्थानीय र जनप्रतिनिधिको एउटै कुरा छ,’ उहाँको भनाइ छ । सङ्घीय सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको सो युद्ध सङ्ग्रहालय सञ्चालनका लागि थप बजेट जुटाउन आवश्यक प्रयास भइरहेको बुटवल उप–महानगरका इन्जिनियर गौतम रौनियारले बताउनुभयो । इन्जिनियर रौनियारले सङ्घीय सरकार र प्रदेश सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरूमा बजेट माग गरिएको जानकारी दिनुभयो । भवन भित्र निर्माण गरिने प्राकृतिक तथा कृत्रिम संरचनाहरूको अध्ययन गरी डिपिआर तयार भैसकेको छ ।

    थप बजेटका लागि प्रदेश र सङ्घीय सरकारको पर्यटन मन्त्रालयमा माग गरिएको गौतमको भनाई छ । लुम्बिनी प्रदेशकै नमुना युद्ध सङ्ग्रहालयका रूपमा निर्माण गर्ने भनिएको यो सङ्ग्रहालय भवनका आन्तरिक आवश्यक बस्तु तथा संरचनाहरू तत्काल निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

    स्थानीयले घर अगाडी ठुलो भवन मात्र बनेको र यसको उपयोगिता नभएकोमा दुख व्यक्त गर्छन् । ‘जुन प्रयोजनका लागि बनेको हो सोही प्रयोजन अनुरूप सञ्चालन हुनुपर्यो यो सञ्चालन हुदाँ हामीहरूको व्यापार व्यवसाय पनि केही न केही चलायमान होला,पर्यटकहरू आउलान्, हामीहरूलाई राम्रै होला नि,’ स्थानीय रुद्रलाल श्रेष्ठले सुनाउनुभयो ।jeetgadhi _sanghahalaya_butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology