बुटवल,फागुन १४ ।
लुुम्बिनी प्रदेशको पशुपति नाथका रुपमा परिचित पाल्पाको तिनाउ गाउपालिकामा रहेको सिद्धबाबा मन्दिरलाई महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा झकिझकाउ पारिएको छ ।
शिव महिमा अपार, मूल मन्दिरको जीर्णेाद्वार भन्ने मूल नाराका साथ शिवरात्रीका दिनमा मन्दिरमा दर्शन तथा पूजा गर्नेहरुका लागि बिहान ३ बजेदेखि पूजागर्ने ब्यबस्था मिलाइएको छ ।
त्यस्तै २ वटा निशुल्क तथा अन्य ७ वटामा श्रद्धालुहरुका लागि ३० रुपियामा जहाँबाट पनि मन्दिर पुग्न सकिने गरि प्रबन्ध गरिएको सिद्धबाबा मन्दिर विकास समिति अध्यक्षका सन्तोष शेरचनले बताउनुभयो ।
धार्मिक तथा पर्यटकीय आवश्यकता अनुसार धार्मिक बस संचालन गरिएको र दान पात्रमा जम्मा भएको रकमबाट बसको संचालन खर्च व्यवस्थापन गरिएको छ । सिद्धबाबा मन्दिरमा शिवरात्रीको दिन हरेक वर्ष विशेष पूजाआजा हुँदै आएको छ ।
फागुन १४ गते बुधबार बिहानैदेखि हुने शिवपुजन, अखण्ड हरि भजन कृतन, रुद्राभिसेक पूजा र विशेष पाठका लागि मन्दिरलाई सजाएर बेहुली जस्तै बनाइएको छ ।
शिवरात्रीमा मन्दिर दर्शन र पूजा अर्चनाको लागि आउने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी बिहान ३ बजेदेखि नै मन्दिर खुला गरिने कार्यक्रम संयोजक तोया लम्सालको भनाइ छ ।
विगतका वर्षहरुको तथ्यांकलाई हेर्दा सिद्धबाबा मन्दिरमा लुम्बिनी प्रदेशका जिल्ला मात्र नभई नेपालका विभिन्न जिल्ला र भारतको गोरखपुरबाट समेत भक्तजन आउने गरेका छन् । यसपाली करिब ५० हजार श्रद्धालु भित्राउने आयोजकको अपेक्षा छ ।
धार्मिक एवम् पर्यटकीय क्षेत्र सिद्धबाबा रामापिथेकससँग जोडिएको छ । १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको बङ्गाराको जीवाश्म भेट्टाएको नजिकै सिद्धबाबा मन्दिर रहेको छ । विक्रमको सातौँ शताब्दीमा राजकाजबाट बैराग्य जागेपछि उज्जैनका सम्राट भर्तृहरि गोरखपुर आई गुरु गोरखनाथसँग दीक्षित भई हिमाल र तराई देखिने तिलोत्तमा नदीको किनारस्थित कुइरेभिरमा कठोर तपस्या गरी सिद्ध भएकाले सिद्धबाबा भनिएको अमरसिंह प्रधानको भनाइ छ ।
मन्दिरमा १५० स्वयंसेवक परिचालन,१८ वटा सिसिटीभी क्यामेरा जडान ,६ लाख ३१ हजार खर्च अनुमान गरिएको सचिव अरबिन्द पाण्डेको भनाइ छ । मन्दिरको बिकास र स्तरोन्नती गरि थप ब्यवस्थित गर्न सकेमा देश तथा बिदेशबाट लाखौँ श्रद्धालुहरु आउन सक्ने स्थानीय बिष्णु पाण्डेय बताउछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)