बुटवल,पुस २८-
उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन सवैलाई आह्वान गर्नुभएको छ । अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको हो ।
आफु अहिले दोस्रो पटक उर्जा मन्त्रालयको जिम्मेबारी लिइरहँदा मन्त्रालयका चुनौतीहरु फेरिएको अनुभव पनि उहाँले सुनाउनु भयो ।
उहाँले भन्नुभयो, “पहिलो पटक उर्जा मन्त्री हुँदा विद्युतको अभाव हुने समस्या थियो, अहिले उर्जा मन्त्री हुँदा विद्युत धेरै हुने समस्या भएको छ, त्यसैले उर्जा खपत बढाउनु पर्ने भएको छ ।”
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभा उद्घाटन कार्यक्रममा उहाँले उर्जा खपत बढाउनका लागि मन्त्रालयले अहिले विभिन्न योजना तथा नयाँ नयाँ नीतिहरु बनाउदै गरेको जानकारी पनि दिनुभयो । आगामी भदौसम्ममा ५०० मेघावाट विजुली खेर जानेगरी उत्पादन भइरहेको बताउदै उहाँले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्रि गर्ने गृहकार्य पनि भइरहेको उल्लेख गर्नुभयो ।
विद्युत प्रवाहको संरचना पुरानो हुनु पनि अर्को चुनौतीका रुपमा रहेको मन्त्री रायमाझीको भनाई छ । विद्युतको संरचना पुरानो हुँदा विद्युत विक्रि वितरणमा समस्या हुने उहाँले बताउनुभयो ।
विद्युतको विक्रि र खपत बढाउन सरकार सफल हुने दावी गर्दै उहाँले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले पनि निर्धारित समयमा विजुली उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भिजन लुम्बिनीले कास्कीको माछापुच्छ«े गाउँपालिकामा बनाउदै गरेको २५ मेघावाटको जलविद्युत आयोजनाका लागि राज्यको तर्फबाट हुने सवै सहयोग र सुविधाका लागि कुनै कमि नहुने आश्वासन पनि दिनुभयो ।
यो आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले कूल स्वपुँजी मध्ये १८.५२ प्रतिशत (२० करोड रुपैयाँ) लगानी गर्ने सम्झौता गरेको छ ।
भिजन लुम्बिनीले तिब्र गतीमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामुहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो।
सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।
एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।
कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।
६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ ।
हालसम्म करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।
यी समाचार पनि पढाैँ :-
नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण
विद्युत खपत बढाउन उर्जा मन्त्री रायमाझीको आह्वान
छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री विष्णु पौडेल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)