भैरहवा,२६ पुस-
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४,इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए ।
बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १-१ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।
बलिङमा नवलपरासीका अजित यादवले र जितेन्द्र साहनी ३-१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १÷१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए ।
भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेल मैसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो । उता आजबाट दाङको लमहीमा सुरु भएको समूह ‘बी’को पहिलो खेलमा दाङले बर्दियालाई ६७ रनले पराजित गरेको छ । दाङले २०९ रन बनायो भने बर्दिया १३३ रनमा अलआउट भयो ।
समूह ‘बी’अन्तर्गत भोलि लमहीमा बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडाै मा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)