Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न मुलुकसँग कुटनीतिक पहल : परराष्ट्र मन्त्री एनपी साउद

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न मुलुकसँग कुटनीतिक पहल : परराष्ट्र मन्त्री एनपी साउद

  • 1.3K
    SHARES

  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न मुलुकसँग कुटनीतिक पहल : परराष्ट्र मन्त्री एनपी साउद

    भैरहवा,फागुन १९ ।

    परराष्ट्र मन्त्री एनपी साउदले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानबाट सुचारु तथा चलायमान बनाउन विभिन्न मुलुकसँग कुटनीतिक पहल भैरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५औं बार्षिक साधारण सभाको शनिवार भैरहवामा उद्घाटन गर्दै मन्त्री साउदले यसका लागि बिशेषगरि भारतसँग कुराकानी अगाडि बढिरहेको बताए । ‘यसका लागि भारतका बिदेश मन्त्री समक्ष एक हप्ता अघि मैले कुराकानी गरेको छु’, मन्त्री साउदले भने, ‘यो बिषयमा भारत सकारात्मक ढंगबाट अघि बढ्नेमा म बिश्वस्त छु ।’

    यहाँबाट हवाइ उडान संचालन गर्नका लागि विभिन्न बिदेशी एयरलाइन्स कम्पनिसँग पनि कुरा भैरहेको उनले जनाए । उनका अनुसरा, भारतसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिदेशी दातृसंस्थाबाट ऋण लिएर निर्माण गरिएको र उपयुक्त ढंगबाट उक्त बिमानस्थल संचालनमा आउन नसकेमा हुने नोक्सानीको वारेमा स्पष्ट रुपमा कुरा राखिएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पहल गरिरहेको दावी उनले गरे । मन्त्री साउदले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वारेमा कुरा राख्नु अघि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल पूर्ण रुपमा संचालन हुन नसक्नुको पछाडी भारतकै कारण हो भने परराष्ट्र सम्बन्ध तथा नेपालको कुटनीतिक पहलका वारेमा जिज्ञासा राखेका थिए ।


    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि राज्यको तर्फबाट ४० अर्व रुपैयाँ लगानी भएको छ भने निजी क्षेत्रको ८० अर्व भन्दा धेरै लगानी भएको छ’, शर्माले भनेका थिए, ‘यो विमानस्थल किन चलेन रु सरकारले जवाफ दिनु पर्यो की अव निजी क्षेत्रले के गर्ने रु ।’

    मन्त्री साउदले, नेपालको ठूलो जनसंख्या कृषिमा संलग्न भएर पनि कृषि उपजमा नेपाल आत्मनिर्भर बन्न नसकेर ठूलो परिमाणमा आयात गर्नु परेकाले व्यवसायिक कृषि उत्पादनमा लाग्न र कृषि उद्योग संचालन गर्न उनले नीजि क्षेत्रलाई आग्रह गरे । बिदेशमा रहेका नेपाली राजदुतावास मार्फत् नेपाली उत्पादनको बजार अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गर्न र विदेशी प्रविधि नेपालमा भित्राउन पहल गरिएको बताएका छन् । नेपालले आर्थिक फाइदा पाउने गरि आर्थिक कुटनीतिक रणनीति अघि बढाइएको बताए ।

    ‘विभिन्न मुलुकमा रहेका नेपाली राजदुतहरुलाई नेपालका लागि भीसा र पासपोर्ट उपलब्ध गराउने काममा मात्र सिमीत नरहेर नेपालको कुन उत्पादन कुन कुन मुलुकमा बेच्न सकिन्छ र नेपालमा भित्राउन सकिने त्यहाँको प्रविधिको पहिचान गर्न लगाएको छु’, मन्त्री साउदले भने । नेपालमा पर्यटनको विकासका लागि रामायण सर्किट, बुद्ध सर्किट र काशी–पशुपतीनाथ–मुक्तिनाथलाई जोडेर पर्यटकीय रुटको विकास गर्ने काम भैरहेको उनले जनाए ।


    नेपालमा लगानीको क्षेत्र बिस्तार गर्नका लागि सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको जनाउँदै उनले बिश्वका ठूला ठूला लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गरिने बताए । नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न आवश्यक परेमा नीतिगत सुधार र नीति संशोधन गर्न सकिने उनले बताए ।

    ‘नेपालमा बिदेशी लगानीकर्तालाई आकर्षित गराउन लगानी सम्मेलन गर्दै गर्दा स्वदेशी लगानीकर्तालाई पनि उत्साहित गराउने बातावरण तयार गरिने छ’, मन्त्री साउदले भने, ‘नेपालको आर्थिक समुन्नतीका लागि सरकार नीजिक्षेत्र आपसमा सहकार्य गरेर अगाडि बढ्न जरुरी छ ।’ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले मुलुकको समृद्धिका लागि हामीसँग उपलब्ध भएको स्रोतसाधन विदेशमा बेच्नुपर्ने जनाए । उनले लुम्बिनीलाई ब्राण्डिङ गरेर पर्यटनका माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन प्रदेश सरकार कटिबद्ध रहेको जनाए । उनले उद्योगी ब्यवसायीलाई राज्यले अधिकतम सहयोग गर्नुपर्ने उनले जनाए ।

    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले नेपाल जडिबुटी र प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएर पनि सरकारी स्तरबाट उपयुक्त नीति र नीयम बनाउन नसक्दा उपयोगमा आउन नसकेको जनाए । उनले नेपाल आउने भारतीय पर्यटकलाई कम्तिमा पाँच लाखसम्म ल्याउन पाउने नीति जरुरी रहेको बनाए । यसो गरे मात्रै विदेशी पैसा नेपाल भित्रिने उनले जनाए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले राज्यले अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरे । व्यापार सहजिकरणमा परराष्ट्रस्तरीय सहजिकरण हुन नसक्दा आयात निर्यातमा समस्या भएको शर्माले बताए । ‘पारवहनमा, पर्यटक आगमनामा समस्या छ । तर नीतिगत सुधार गर्ने स्थानमा सरकार छ’, शर्माले भने, ‘पर्यटक नेपालमा आउँदा सिमा नाकाहरुमा अनेक समस्या छन् । सिमा नाकाहरुको सुदृढिकरण र सुन्दरीकरण हुन जरुरी छ ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बिदेश जानका लागि पासपोर्ट बनाउँदा १५ हजार तिरेमा भोलीपल्टै पाइने तर स्वदेशमा नै उद्योग व्यवसाय गर्न खोजेमा अनाबश्यक दुःख र झन्झट बेहोर्नु पर्ने बताए । ‘युवा पुस्ता स्वदेशमा आफ्नो भविष्य नदेखेर नेपाल छाड्न चाहन्छन्’, श्रेष्ठले भने, ‘युवा जनशक्ति नभएपछि उद्योग व्यवसायमा मानव संशाधनको अभाव हुन थालेको छ ।’

    लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुषालले निर्माण व्यवसायीले सरकारसंग सम्झौता अनुरुप गरेको कामको भुत्तानी नपाउँदाको आर्थिक असर चौतर्फी रुपमा परेको बताइन् । निर्माण व्यवसायीले गरेको कामको भुक्तानी नपाउँदा विभिन्न निर्माण सामाग्रीको सप्लायर्स, सम्बन्धित निर्माण सामाग्रीका उत्पादक र मजदुर समेत प्रभावित भएको उनले बताइन् । सरकारले अनुकुल नीति बनाएमा निजी क्षेत्र रोजगारी दिन तयार रहेको भनाइ उनको थियो । ‘यो सरकारले आँखाले नदेख्ने र कानले नसुनेको भान गर्न खोजेको आभाष हुन थालेको छ’, भुषालले भनिन्, ‘सवै व्यवसायी आक्रान्त बनिरहँदा तीनै तहका सरकारको धारणा खोइ त ?।’

    पत्रकार न्यौपाने सम्मानित :


    ६५औं बार्षिक साधारण सभाको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघले पब्लिक कुरा डटकमका सम्पादक तथा लुम्बिनी प्रेस क्लवका सचिव प्रकाश न्यौपानेलाई पुरस्कृत तथा सम्मानित गरेको छ । उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनमा समाचारको माध्यमबाट सहयोग पुर्याएको भन्दै संघले न्यौपानेलाई नगदसहित सम्मान गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology