बुटवल,फागुन १५ ।
४२ औँ मगर एकता दिवस आज रूपन्देहीको बुटवलसहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।दिवसको अवसरमा आज बुटवलमा मगर समुदायको भेषभुषासहितको सांस्कृतिक झाकी प्रदर्शन गरिएको छ ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अगुवाइमा बुटवलको राजमार्ग चाराह स्थित लखन चोकबाट शुरू भएको झाकी मिलन चाक बसपार्क,अस्पताललाईन,ट्राफिक चोक,सुख्खानगर,दिपनगर हुदै हिलपार्कमा पुगेर सभामा परिणत भएको थियो ।हजारौं मगर समुदायको सहभागीता रहेको झाकीसहितको र्याली शक्ति प्रदर्शनको झल्को दिने खालको थियो ।
२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । त्यसैको सम्झनामा मगर संघ र सम्बन्धित संघ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।दिवसको अवसरमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् ।
पाल्पाका सबै पालिकामा आज स्थानीय बिदा छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम हुँदैछन् । बर्दघाट सुस्तापूर्वका आठवटै पालिकामा बिदा छ ।अर्घाखाँचीको शितगंगा नगरपालिकाले पनि आज बिदा दिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)