बुटवल,मंसिर २८ ।
बुटवलमा हुने नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । कार्यक्रम स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइएको हो । बुटवल जेसीजको आतिथ्यतामा रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा (भोलि) मंसिर २९देखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
महाधिवेशनको शुक्रबार दिउसो २ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुहुने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसंगै भएकाले दुबै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको हो ।
बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाइरेक्टर पोखरेलको भनाइ छ । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएकोले सबैलाइ सहयोगी भूमिका खेल्न समेत उहाँले आग्रह गर्नुभयो ।
महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मतभार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिनुभयो ।उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ४ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताउनुभयो ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १६ वटा उपसमिति गठन गरेर काम गरिएको प्रचारप्रसार संयोजक राजीव गौतमले बताउनुभयो ।
‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताउनुभयो ।
यसअघि नै रुपन्देहीका सामाजिक सङ्घसंस्थाहरू, दलका जिल्ला तहका नेताहरू र प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरू,सुरक्षा निकायसँग पनि भेटघाट तथा छलफलको कार्यक्रम भैसकेको राष्ट्रिय महाधिवेशन सचिव मनोज भट्टराईले बताउनुभयो । सो अवसरमा पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन बुटवलमा हुनु सबैको गर्वको बिषय भएकाले यसलाइ मिडियाले सकारात्मक रुपले लिएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बुटवल जेसिजले बिहिबार जेसिज सचिवालयबाट अस्पताललाइनसम्म बृहत सरसफाइ कार्यक्रम समेत गरेको थियो । जेसिजले अध्यक्षका ४ जना आकांक्षीहरुसंग आजै अन्तरर्बार्ता समेत सम्पन्न गरेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)