बुटवल,पुस १-
काठमाडौँको तीनकुनेमा बेबारिसे अवस्थामा छाडिएकी एक महिलालाई मानव सेवा आश्रमले उद्धार गरेको छ । उनलाइ तीनकुनेको व्यस्त सडकको पश्चिमपट्टिको फुटपाथ छेउमै भिरालोमा बेबारिसे अवस्थामा फेला पारेको हो ।
ब्ल्याङ्केटमै सुतेकी र ब्ल्याङ्केट नै ओढेकी करिब ४५ बर्षकी महिलालाइ कसैले अस्पताल वा घरबाटै लिएर छोडेको अनुमान गरिएको छ ।
काठमाडौँकी सरिता खड्काले बाटोमा हिँड्दै गर्दा तीन दिनअघि ती बेबारिसे महिलालाइ देखिकी थिइन् । सरिताले नागरिक अनलाइनसंग भनिन्,-‘म अफिसबाट फर्कंदै गर्दा साँझको ८ बजेतिर पुल छेउमा मान्छेजस्तै देखें । नजिकै पुगेर हेर्दा भर्खरै कसैले छोडेर गएको जस्तो देखिन्थ्यो ,अनि मानव सेवा आश्रममा खबर गरेँ ।’
मानव सेवा आश्रमका बाग्मती प्रदेशसंयोजक सुमन वर्तालाले नागरिक अनलाइनसंग भने-‘उहाँलाई हिजो अपरान्ह उद्धार गरेका हौँ,उद्धार गरेर थप उपचारका लागि बीर अस्पतालको गेटमा पुर्याउदा उहाले प्राण छोड्नुभयो ।’ आज पोष्टमाटर्म गरेर भोली हामी उहाको अन्तम संस्कार गर्छौँ उनले सुनाए । 
घटनाले समाजमा क्रुरता बढेको र मानवीयता कहाँ छ भन्ने प्रश्न उठाएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले नागरिक अनलाइनसंग भने ।
खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित मानवसेवा आश्रमले निरन्तर काम गरिरहेको महासचिब रुपा केसीले बताइन् ।
ती महिलाको अहिलेसम्म आफन्त पत्ता लागेको छैन । यो घटनाले मानवीयतामाथि निकै ठूलो प्रश्न चिन्ह पनि खडा गरेको छ ।

सबै तस्वीरहरु : मानव सेवा आश्रमकाे फेसबुकबाट ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)