बुटवल,भदौ ३ ।
बुटवलमा भएको दुइदिने मिडिया सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका संचार माध्यमहरुको संस्थागत विकास र व्यवसायिक एकरुपता कायम गर्ने उद्देश्यले बुटवलमा मिडिया सम्मेलन भएको हो ।
सम्मेलनले सञ्चार गृहहरुमा देखिएको आर्थिक संकट समाधानका लागि तीन तहकै सरकार गम्भीर बन्नुपर्ने घोषणा गरेको छ । त्यसका लागि तीनै तहका सरकारले मिडिया सवलीकरण कार्यक्रम तयार गर्न पनि सम्मेलनले माग गरेको छ ।
समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमै व्यवस्था गरी कार्यान्वयन गर्न र उक्त विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुलाई सिधै उपलब्ध गराउन पनि माग गरिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएको सम्मेलनले लुम्बिनी प्रदेशका सञ्चार गृहको वास्तविक अवस्था र समस्या पहिचान गर्न सहयोग पुगेको संघका अध्यक्ष नवराज कुँवरले बताए ।
सरकारले लिँदै आएको विद्युतीय सञ्चार माध्यमको नवीकरण दस्तुर र रोयल्टी शूल्कमा पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था सुरु गर्न पनि सम्मेलनले माग गरेको छ ।
घोषणापत्र लेखन समितिका संयोजक जगदीश भट्टराईले सरकारले संचार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम सतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताबिना सञ्चालन भएका मिडियाको अनुगमन गरी कानुनी प्रक्रियामा ल्याउन, संघीय शासन पद्दतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्ला तहमै गर्ने संयन्त्र तयार गर्न पनि माग गरिएको बताए ।
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई प्राथमिकतामा राख्न, बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पनि सम्मेलनले सरकारसँग माग गरेको उपाध्यक्ष बिष्णु भुसालले जानकारी दिए।
सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियाका झण्डै १ सय ५० संचालक एवं प्रकाशकहरुको सहभागिता थियो । सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार उद्घाटन गरेका थिए ।
मिडिया हाउस सक्षम र सवल भए मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने विषयमा पनि सम्मेलनले जोड दिएको सचिव माधव नेपालले बताए ।
मिडिया सम्मेलन २०८० बसन्तपुर घोषणा पत्र पूर्णपाठ :
प्रदेश भित्रका सम्पुर्ण मिडियाका सञ्चालकहरुको सहभागीता, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिति २०८० साल भाद्र १ र २ गते चलेको मिडिया सम्मेलन २०८० मा उठेका सवाललाई समेटेर यो बसन्तपुर घोषणा पत्र २०८०, सार्वजनिक गरिएको छ ।
१) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व वहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउन सम्मेलन माग गर्दछ ।
२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।
३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबै पक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन आग्रह गर्दछ ।
४) तिनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन माग गर्दछ ।
६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागि नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउन यो सम्मेलन माग गर्दछ ।
७) सरकारले संचारगृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।
८) रेडियो र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछ ।
९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।
१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न यो सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्दछ ।
११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी केवलकार सञ्चालन भएकाले नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१३) भाद्र १ गते बुटवल र २ गते पाल्पाको बसन्तपुरमा आयोजित यस सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।
अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तिनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)