बुटवल,जेठ ३२ ।
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रूपन्देहीको दशौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा बोल्ने बक्ताहरूले भुपुहरू एकजुट भएर समाज रूपान्तरणमा लाग्नुपर्ने बताए ।
उनीहरूले नेपालीलाई भारतिय सेनामा भर्ति खुलाउनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । बिभिन्न बहानामा भर्ति रोकिनु दुखद भएको उनीहरुको भनाइ छ ।
सो अवसरमा बोल्दै संयुक्त पुर्व सैनिक कल्याणकारी महासंघ अध्यक्ष कर्णेल धनबहादुर थापाले एकतावद्ध भएर मात्रै समस्या समाधान गर्न सकिने बताए । भर्ति खुलाउन नेपाल सरकारले पनि भारतलाई दबाब दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले अहिले भर्ती रोकिदा भोलि नयाँ गोर्खालीहरु हराउँदै जाने भएकाले भावि पुस्तालाई गोर्खाली सेना भनेर पहिचान दिलाउनका लागि पनि भर्ति अनिबार्य रहेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भुपु सैनिकको पहिचान नै अनुशासन तथा सरसफाइ रहेको भन्दै विकास निर्माणमा भुपु सैनिकको भुमिका रहेको बताए ।
सो अवसरमा महासंघका महासचिव कुलबहादुर केसी,बुटवल फुलवारी क्याम्पका डा.एसके यादव ईसिएचएस, सैनामैना भुपु नगर अध्यक्ष क्या.मोतिप्रसाद राना,जोनल मेम्बर सुबदार मेजर पुरन शाही, ईकाई समितिका अध्यक्ष सुबेदार टेकबहादुर रेश्मी,वीर गोरखा सहिद स्मारक सुनवलका उपाध्यक्ष नारायण थापा, संस्थाका रूपन्देही उपाध्यक्ष सुबेदार खुमबहादुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा पत्रकारिताबाट समाज परिवर्तन र पुर्व सैनिकका गतिविधि सञ्चार माध्यमबाट जनजनमा पुर्याएर योगदान गरेको भन्दै पत्रकार बिश्वास ढकाल र कपिल ज्ञवालीलाई दोसल्ला,सम्मानपत्र र नगदसहित सम्मान प्रदान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)