सुर्खेत,चैत २६ ।
नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् ।
गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।
केन्द्रीय समीकरण अनुसार कर्णाली पनि नेपाली काँग्रेस सरकारमा जाने भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १ र १ सांसद छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)