बुटवल, फागुन ४ ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचार शुरु भएको छ । उनको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।
गएराति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भइ घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, ‘नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ ।’ न्यौपाने भण्डारीसँगै मुम्बइ गएका छन् ।
भण्डारीको भोलि दुई वटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको न्यौपानेले जानकारी दिए ।
भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गरेको हो ।
आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)