बुटवल,फागुन ४ ।
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार दिउँसो सवा ३ बजे तिर विमान उडेको थियो । कीर्तिपुरबाट उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको नेपाली कांग्रेसका नेताद्वय गोविन्द भट्टराई र कल्याण गुरुङले जानकारी दिनुभयो । उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लगिएको हो ।
छ जना चिकित्सकको टोली पनि उहाँसँगै गएको स्वास्थ्य मन्त्रालयको सचिवालयले जनाएको छ । चिकित्सकको टोलीमा डा. प्रदीप तिवारी, डा. वृहस्पति, डा. प्रदीप शर्मा, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङ हुनुहुन्छ । गएराति घाइते हुनुभएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो । सिलिण्डर विस्फोटबाट घाइते उहाँको माता हरिकला भण्डारीको उपचारकोक्रममा आज बिहान निधन भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)