राजन ज्ञवाली/ कतार,पुस ३ ।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले कतारमा जारी विश्वकपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाले तेस्रोपटक उपाधि जितेको हो ।अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।
तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेपछि खेल अर्जेन्टिनाको पक्षमा धकेलिएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)