बुटवल,भदौ २७ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देशमै रोजगारी बृद्धि गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । युवाहरु रोजगारीका लागि बिदेशीनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले बिभिन्न आयोजनामा उनीहरुको श्रमलाइ सदुपयोग गरिरहेको धारणा राख्नुभयो ।
मन्त्रालय अन्तर्गतको लुम्बिनी प्रदेश प्रधानमन्त्री रोजगार कार्यक्रमको बार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रमलाइ रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै मन्त्री कुँवरले स्वरोजगारी बढाउने ,श्रमको सम्मान गर्ने राष्ट्रको अभियान रहेको बताउनुभयो ।
‘देशमै रोजगारी दिनुपर्छ,युवापुस्तालाइ यहि रोक्नुपर्छ,श्रमको सम्मान गरेर हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन महिना मात्रै होइन बाह्रै महिना काम गर्ने वातावरण मिलाउदैछौं । ’उहांले भन्नुभयो ।
‘अहिले पनि अभिकांश नेपाली इटाभट्टामा,कपाल काट्ने ठांउमा,प्राबिधिकहरु भारतिय नै छन् ,यहां नेपाली बेरोजगार छन्,सीप सिकेर रोजगारी बन्नुपर्छ । ’उहांको भनाइ छ ।
सूचिकृत बेरोजगारहरुको संख्या बढिरहेको तथ्यांक रहेको भन्दै उहाले रोजगारी सिर्जना गरेर उहांहरुको आम्दानीको श्रोत बढाउने धारणा राख्नुभयो ।उहांले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने समेत बताउनुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने बताउनुभयो ।
अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने र कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो ।
कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको जनाइएको छ । सो कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको छ ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, उपसचिव लोकनाथ भुसाल ,वित्तिय बिज्ञ हरि प्रसाद फुयाल, , आइटी बिज्ञ सुदन प्रजापति ,अनुगमन तथा मुल्यांकन बिज्ञ बसन्त श्रेष्ठ लगायतले बोल्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ प्रभावकारि बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेशका एकसय नौ पालिकामा आव ०७८-०७९ मा ८६ हजार ८८२ सुचिकृत बेरोजगार छन् भने चालु आवमा १ लाख ३ हजार ९ सय ६१ सुचिकृत बेरोजगार रहेको तथ्यांक छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)