बुटवल,साउन २३ ।
लुम्बिनी प्रदेश युवा परिषद्ले देवदहमा बृक्षरोपण गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी साताव्यापी कार्यक्रमको आयोजना गर्दै परिषद्ले देवदहबाट बृक्षरोपण कार्यक्रम आयोजना गरि सुरु गरेको हाे।
देवदह नगरपालिका वडा ५ को कार्यलय परिषरमा वृक्षरोपण कार्यक्रम भएको हाे ।कार्यलय परिषरमा गरिएको उक्त बृक्षरोपणको संरक्षणको जिम्मेवारी वडा कार्यालयले लिने भन्दै उक्त कार्यक्रममा वडालाई छानेकोप्रती वडाअध्यक्ष गणेश डुम्रेले परिषद्लाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका प्रमुख ध्रुव खरेलको उपस्तिथिमा भएको थियो । बृक्षरोपण वातावरण र पृथ्वी जोगाउने महान अभियान भएको भन्दै युवा परिषद्ले गरेको उक्त कार्यको प्रशंसा गरेका थिए । उनले युवाहरुको बढ्दो विदेश पलायनलाई रोक्न उद्यमशिलता र सीपमूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै बर्षायामसँगै माटोको क्षयीकरण भैरहेको बेला युवाहरुले बृक्षरोपणको अभियान ल्याउनु स्वागतयोग्य भएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी राष्ट्रिय युबा परिषद् संघीय युबा सन्जालकी कोषाध्यक्ष श्रद्धा कुँवरले वृक्षरोपण पर्यावरणको लागी मात्रै नभएर युवालाई सामाजिक कामप्रती अग्रसर गराउँदै समाज निर्माणमा युवाहरुको भूमिकालाई अझ बृहत्तर बनाउनु समेत रहेको बताईन् ।
यस्तै कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन केसीले सबैको सहकार्यमा समाजलाई युवा मैत्री बनाउनुपर्ने भन्दै युवाहरुलाई सकारात्मक बाटोमा ल्याउन परिषद्ले निरन्तर पहल गरेको जानकारी दिए ।
कार्यक्रममा १ सय भन्दा बढी फलफूल तथा अन्य विरुवाहरु रोपिएको थियो । साताव्यापी कार्यक्रम गरेर मनाईने अन्तराष्ट्रिय युवा दिवसको दिने साउन २६ गते परिषद्ले बृहत्तर कार्यक्रमको आयोजना गर्ने र ५ सय भन्दा बढी युवाहरु सहभागी गराई प्रभातफेरी सहितको कार्यक्रमको आयोजना गरिने लुम्बिनी प्रदेश युवा संजालका अध्यक्ष मनोज भण्डारीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधी, परिषद्का सदस्यहरु ,सन्जालका सदस्य तथा नमुना साम्सदहरुको सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)