बुटवल,जेठ २६ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको दुई विधेयक दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको छ ।
बिहीबार बसेको प्रदेश सभाको दशौं अधिवेशनको सातौं बैठकले प्रदेश सञ्चारमाध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाउने निर्णय गरेको हो ।
आजकै प्रदेश सभाको बैठकले बुधबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा पेश गरेको आगामी आर्थिक बर्ष २०७९-०८० को प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति धन्यवाद ज्ञापन गरेको छ ।प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खाँ प्रस्तावक र नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज समर्थक रहेको धन्यवाद प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
त्यस्तै आजको बैठकमा प्रदेश प्रमुख शेरचनले बुधबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७९-०८० को प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रति प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले सभामुख पूर्ण बहादुर घर्तीलाई हस्तान्तरण गरे ।
प्रदेश सभाको अर्को बैठक भोली शुक्रबार मध्यान्ह १२ बजे बस्नेगरी स्थगित भएको छ ।भोली शुक्रबारदेखि प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथीको छलफल सुरु हुने सभामुख घर्तीले सभालाई जानकारी गराए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)