बुटवल,पुस २१ ।
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका छन्। बुधबार आफू निकटको बैठकमा ४ बुँदे धारणा राख्दै उनले पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताए।
नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरु प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए।
सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो रहेको छ।
‘अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउन हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ’ नेता कोइरालाले भनेका छन्,-‘लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिन् पर्छ। पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन्।’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)