बुटवल,पुस १६ ।
राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो ।
बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ ।
मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ ।
जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन् । गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दनकुमार झाले जानकारी दिए ।
गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)