बुटवल,मंसिर १७ ।
रूपन्देहीमा दुइ दिने ‘लुम्बिनी हेरिटेज राइड-२०७८’ हुने भएको छ।
साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसंग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी लुम्बिनी सम्पदा साइकल राइड–२०७८को आयोजना हुने भएको हाे।
हाम्रो सम्पदा, हाम्रो गौरव–भन्ने मूल नाराका साथ पौष २ र ३ गते साइकल यात्रा हुने भएको हो ।विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा २ दिनसम्म हुने लुम्बिनी साइकल यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदह, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने भएको हो । कार्यक्रमबारे जानकारी दिन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटीका अध्यक्ष विनोद कार्कीले सो बारे बताएका हुन् ।
यात्रामा देशभरका १५० बढी साइकल यात्री सहभागी हुने छन् भने उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने उनले बताए ।लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी यात्रीहरु सहभागी हुने यात्रामा पुरुषहरुका लागि १५०० तथा महिला र बालबालिकाहरुका लागि ११०० सय प्रवेश शुल्क लाग्नेगरी दर्ता सुरु भइसकेको कार्यक्रम संयोजक बिमल बस्नेतले जानकारी गराए ।
बुटवलको जितगढी किल्लाबाट सुरु हुने साइकल यात्रा सम्पन्न गर्नका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरापलिका तथा सैनामैना नगरपालिकाको समेत सहयोग रहेको कार्यक्रमबाट यहाँको धार्मिक तथा पर्यटकी क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवर्द्धन गरी पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
स्वास्थ्य र वातावरणका लागि साइकल यात्रा गर्नु पर्ने सचेतना फैलाउन समेत यो कार्यक्रमले सहयोग गर्ने क्लबका सचिव मनि विश्वकर्माले उल्लेख गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)