बुटवल,असाेज १ ।
आज विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने परम्परा छ ।
पर्वका अवसरमामेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान-पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने परम्परा छ ।
पर्वका अवसरमा विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक-चोकमा स्थापित गरिएका छन् । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ ।
धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका छन् ।
बुटवलको मैनाबगरमा बिशेष पूजाअर्चना गर्ने गरिन्छ । मैनाबगर अटाे भिलेज भएकाले यहाँ सबैले आ-आफ्ना गाडी तथा फलामजन्य धातुहरुको पूजा गर्दछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)