बुटवल,साउन २-
बुटवलका ४ विद्यालयले थप कक्षा संचालनको अनुमति पाएका छन् । बुटवल उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले अहिले १० कक्षासम्म पढाइ भएका ४ विद्यालयलाई कक्षा थपको अनुमति दिएको हो ।
अब ज्ञानोदय मावि, सन्तोषी माता गुरुकुल विद्याश्रम, इडन इङलिस बोर्डिङ स्कुल र ज्ञानपुञ्ज सेकेण्ड्री बोडिङ स्कुलमा ११ कक्षा पढाइ हुने उपमहानगर शिक्षा शाखा अधिकृत टिकाराम पन्थीले जानकारी दिए।
ज्ञानोदयमा शिक्षा र व्यवस्थापन समुह अन्तर्गतका विषय पढाइ हुने छ । सन्तोषी माता गुरुकुलमा व्याकरण, ज्योतिष लगायतका संस्कृत अन्तर्गतका विषय पठन पाठन हुने छ । त्यस्तै इडनमा र ज्ञानपुञ्जमा पनि व्यवस्थापन तथा शिक्षा अन्तर्गतका विषयहरु पढाइ हुने छ।
यस्तै विगतदेखी नै ११ र १२ कक्षा पढाइ भइरहेका नविन औद्योगिक कद्दरबहादुर रिता माविमा शिक्षा र कानून समूहका विषयहरु थप गरिएको छ । एचिभर्स एकेडेमीमा विज्ञान अन्तर्गतको भौतिक शास्त्र, रसायन शास्त्र र जिब शास्त्र विषय थप भएको छ ।
अन्नपूर्ण एकेडेमीमा मास कम्युनिकेशन र सव ओभरसियर तथा बुटवल ग्लोरी इङलिस स्कुलमा ट्राभल एण्ड टुरिजम विषय यस वर्षदेखि थप गरिएको उपमहानगरले जनाएको छ । अब बुटवलमा १० कक्षासम्म पढाइ हुने ५ वटा विद्यालयले मात्र ११ कक्षाको अनुमति पाउन बाँकी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)