बुटवल, जेठ १८ ।
बुटवल उपमहानगरपालिका टोल-टोलमा कोभिडको निशुल्क परीक्षण सुरु गरिएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो ।
साेमबारदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।
महामारी विरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख शिवराज सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गर्नुभएको छ ।
स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् ।
जनस्वास्थ्यको संवेदनशीलता र महामारी विरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ ।
महामारी नियन्त्रणका लागि बुटवलले मुलुकमै नमुना र उदाहरणीय काम गर्दैआएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिन्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् । निशुल्क परीक्षण आगामी २१ गतेसम्म हुने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)