बुटवल,बैसाख २७-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए । ‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ? ’ उनले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका समेत गरे ।
उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए । उनले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि त प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंकासमेत गरे ।
प्रचण्डले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताए । उनले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।
उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को रु भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)