बुटवल,बैसाख २१-
बुटवल उपमहानगरपालिकाले निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले पालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा संचालनमा ल्याएको हाे ।
आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ ।
मंगलबार एक कार्यक्रमका बीच प्रमुख सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गर्नुभएको छ । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पु¥याउने गरि नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले मुलुकमै नौलो कामको थालनी गरेको हो । कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ । अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।
होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पु¥याइरहेको छ ।
होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ ।
उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत हुनुहुन्छ ।

अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताउनुभयो । जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उहाँले बताउनुभयो ।
कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख,उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा गएको छ । होम आइसोलेसनमा बसेकाहरुका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।
उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् ।
आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताउनुभयो । बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो ।
महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो । बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।
कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ ।
संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।
उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ ।
संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेशनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पु¥याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)