काठमाडौँ ,पुस २७ ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तनको आवश्यकता रहेको बताएका छन् । पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर देश बन्न नसक्ने स्पष्ट पार्दै उनले व्यक्ति विचारबाट चल्दा मात्र देश बन्ने धारणा राखे ।
पार्टीको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालमा नेपाली जनतालाई अधिकार दिलाउन आन्दोलन गरिएको स्मरण गर्दै २०४६ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान प्राप्त भएको बताए । त्यस्तै, सुशील कोइरालाको नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भए पनि देशलाई सही ढंगले सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।
भण्डारीले ठूला दल मिलाएर सरकार बनाइए पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । उनले भने, 'विगतमा जसलाई हामीले तानाशाह भन्यौँ, उनैले दलहरूलाई दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरे । तर जेनजी आन्दोलनका बेला हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्यो । यही हो प्रजातन्त्र ?'
यस्तो परिस्थितिमा प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टीप्रति आशा व्यक्त गर्दै कांग्रेसलाई कमजोर हुन नदिने बताए । उनले भने, 'अँगेना सधैँ तातो रहँदैन । दाउरा थप्ने मान्छे भएन भने अँगेना चिसिन्छ । हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ।'
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)