बुटवल, असोज ७ ।
मुग्लिन–नारायणगढ सडक आज दिउँसोदेखि फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै ठूलो सुक्खा पहिरो खसेको छ ।
आवतजावत दिउँसो १ बजेदेखि नै दुईतर्फी नै बन्द भएको र बेलुका ५ बजेतिर ठूलो पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
निरन्तर ढुङ्गासहित पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाउने सम्भावना नरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । आजका लागि पहिरो हटाउन र बाटो खुलाउन सक्ने अवस्था नभएको र अब थप निर्णय गरेपछि मात्रै भन्न सकिने आचार्यले बताउनुभयो ।
तुइनखोलामा यसअघि शुक्रवार बेलुकाको पहिरो झन्डै ४६ घण्टापछि पन्छाएर आइतवार दिउँसो एकतर्फी सडक खुलेको थियो । हिजो सोमवार दुईतर्फी नै बाटो खुलेकोमा बेलाबेला सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन । नेपालीहरुको मुख्य चाड बडा दशै,दिपावली,छठलगायतका पर्वको मुखमा देशको राजधानी जोड्ने मुख्य राजमार्ग अबरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।
डिभिजन कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मुग्लिन–नारायणघाटको विकल्पमा नौबीसे–दामन–हेटौँडा र कालीगण्डकी करिडोरको मुग्लिन–भीमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)