बुटवल,जेठ ७ ।
पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समिति प्रचलित ऐन विपरित गठन भएकाले अदालतले उक्त समितिलाई कामकारवाहीमा रोक लगाएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त समितिलाई काम कारवाहीमा रोक लगाउनुको साथै मन्दिरको व्यवस्थापन र संचालन गर्ने सम्बन्धी कुनै कामकारवाही नगर्न, नगराउन विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो ।गोविन्द बहादुर पोखरेल अध्यक्ष रहेको मन्दिर व्यवस्थापन समितिको कार्यकाल पुरा भएपछि २०८१ कात्तिक २७ गते वडा अध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा बसेको भेलाले रिब्दिकोट गाउँपालिका मठ मन्दिर व्यवस्थापन ऐन, २०८१ को प्रावधानमा दिलिप रायमाझीको अध्यक्षतामा मन्दिर व्यवस्थापन समिति गठन गरिएको थियो ।
गुठी संस्थान ऐन बमोजिमको क्षेत्राधिकारलाई प्रयोग गरी देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धि निर्देशिकाको दफा ३ को उपदफा (२) मा उल्लेख भए अनुसार भैरवस्थान मन्दिरको व्यवस्थापन समिति गठन हुनु पर्नेमा त्यस विपरित रिब्दिकोट गाउँपालिका मठ मन्दिर व्यवस्थापन ऐन, २०८१ को प्रावधानमा व्यवस्थापन समिति गठन भएको देखिएकाले उक्त समितिलाई निरन्तरता दिन नमिल्ने गरी अदालतले अन्तरिम आदेश गरेको हो ।नेपालको संविधानको धारा २९० बमोजिम गुठी सम्बन्धी व्यवस्था संघीय कानून वमोजिम हुने र संविधानको अनुसूची ६ को क्रम संख्या २१ बमोजिम गुठी व्यवस्थापनको विषय प्रदेशको अधिकार सूचीभित्र पर्दछ ।
गुठी संस्थान ऐन, २०३३ बमोजिम राज गुठीहरुको संचालन र बन्दोवस्त गर्ने जिम्मेवारी गुठी संस्थानले पाएको छ ।
राजगुठी अन्तर्गत देवस्थलको संचालन र व्यवस्थापनको सम्बन्धमा गुठी ऐनको दफा १६ र १७ बमोजिमको अधिकारक्षेत्रलाई प्रयोग गरी देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरी संचालक समितिबाट स्वीकृति भई लागु गरिसकिएको छ ।
प्रचलित ऐन विपरित मन्दिर व्यवस्थापन समिति गठन गरिएपछि निवर्तमान अध्यक्ष गोविन्द बहादुर पोखरेलले रिब्दिकोट गाउँपालिका वडा नं. ४ का अध्यक्ष सोमकुमार कार्की, मालपोत कार्यालय पाल्पा, गुठी संस्थान, गठित व्यवस्थापन समितिका अध्यक्ष दिलिप रायमाझी र गठित समितिलाई विपक्षी बनाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)