बुटवल,चैत्र १७ ।
नेपालमा हरेक क्षेत्रमा सम्भावना रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । परिवर्तन आफैबाट सुरू गरेमा सबै सम्भव हुनेमा उनीहरूले जोड दिएका हुन् । शनिबार नमस्ते नेपालले तिलोत्तमा ३ मा आयोजना गरेको अब के ? नामक कार्यक्रममा बोल्ने वक्ताहरूले ईच्छा शक्ति र जाँगर भएमा नेपालमै राम्रो सम्भावना रहेको प्रष्ट पारेका छन् ।
निराशालाई आफैबाट हटाई सकारात्मक सोँच लिएर गरेका काम सफल हुने उनीहरूको जोड छ ।युवाले सम्बन्धित विषयमा दक्षता हाँसिल गर्न सके हरेक काम प्रभावकारी हुने उनीहरूले बताएका छन् । साथै त्रिभुवन विश्व विद्यालयको पुनर्संरचना गर्नुपर्ने उनीहरूको तर्क छ ।
कार्यक्रममा युवा उद्यमी तथा व्यवसायी जगत बहादुर पोखरेलले सामुहिक लगानी गर्नुपर्ने बताए । उनले युवाले काम धेरै र कुरा थोरै गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले नगर सदैव युवाकै पक्षमा रहेको बताए । नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले नगरले युवा केन्द्रीत कार्यक्रममा जोड दिएको प्रष्ट पारिन् । कार्यक्रममा मुख्य वक्ताको रुपमा योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्द राज पोखरेल वक्ताको रुपमा अनुसन्धानकर्ता किरण चापागाईं , त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग उप प्राध्यापक तथा लेखक वाइपी आचार्य , युवा उद्यमी जगत बहादुर पोखरेल रहनु भएको थियो भने टुना टेक्नोलोजी बुटवलका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले सहजकर्ताको भूमिका साथै अमर खत्रीले टिपोटकर्ताको भूमिका निभाएका थिए ।
करिव ३ सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीबाट आएका थुप्रै प्रश्नहरुको जवाफ कार्यक्रमका मुख्य वक्ता एवं वक्ताहरुले दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्ष गोविन्द केसी , कार्यक्रम संयोजक तथा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल र स्टोरी टेलर सुदन ज्ञवाली लगायतले आफ्ना भनाइ राखेका थिए ।
नमस्ते नेपाल केन्द्रीय कार्यसमिति अध्यक्ष मनिष भुसालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सुशील सुवेदीले स्वागत र सञ्चारकर्मी आविष्कार खनालले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमै नयाँ वर्ष २०८१ सालको भित्तेपात्रोको समेत विमोचन गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)