Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अपमानको गहिरो घाउ

अपमानको गहिरो घाउ

  • 2.6K
    SHARES

  • अपमानको गहिरो घाउ


    -दीपक विश्वकर्मा

    लामो समयको ग्याप हुन्थ्यो मलाई गाउँ  जान । अथवा आफू जन्मेको ठाउँमा पुग्न पनि घटना घट्नुपर्ने वा कुनै मंगलकार्य जुर्नुपर्थ्यो मलाई । अब त घरभनेर जाने बाटोपनि हरायो । बा बितेको २४ वर्ष जति भयो । आमाले साथ छोडेर गएको पनि ६ वर्ष पुग्न थाल्यो । छुट्टिभिन्न भइयो । पुर्ख्यौली जग्गाबाट म बेदखल भएँ । आफुले स्याहारेका, जोरेका पाखाबारी बिराना भए । बहुतै दु:खले आर्जेका घरगोठसँग नातो हरायो । सम्पत्तिको मुख बहुतै कालो हुँदोरहेछ, जीवनको तेस्रो आयाममा  पुगेपछि बल्ल थाहा लाग्यो ।

    यहाँ मैले भन्नखोजेको कुरो पारिवारिक मिलनबिछोडको कुरोभन्दापनि जातब्यवस्थाले खडागरेको पर्खालको बारेमा रहेको छ । लामोकालखण्डको ब्यवहारिक कसिमा जातब्यवस्था यसरी घुलमिल हुनपुग्योकि आजको पुस्तासमेत कोभन्दा को ठूलो, कोभन्दा को सानोको धङधङी बोकेर बाँचिरहेको छ । पढालेखा छ, समाज बुझेको छ, सामाजिक सद्भाव बुझेको छ, तर पनि जातलाई दिलदिमागबाट निकाल्न, पखाल्न सकेको छैन । परम्पराको सिको गर्न छोडेको छैन र मेरो व्यबहारले उसलाई कति पीडा होला भन्ने कहिल्यै कल्पना गर्दैन । समाज सललल बग्न नसक्नुको गहन कारण यो पनि हो ।

    लामोसमयको अन्तरालमा गाउँ जाँदा  गाउँको परिवर्तनको स्वाद लिन, देख्न, पुराना मान्छेलाई भेट्न, कुराकानी गर्न बहुतै रुचाउने मान्छे हुँ म । यसैपनि मेरो कर्म भनेको लेखन भएको कारणले गर्दापनि म गाउँ पुग्दा एकपटक जताततै  घुम्न रुचाउँथेँ वा आजपनि रुचाउँछु । घर पुगेको रात रातनै भइहाल्यो । जेजस्तो बन्थ्यो आमाको हातबाट बन्थ्यो, खाइन्थ्यो । पुराना दिनहरूलाई दिलदिमागमा सजाएर सुतिन्थ्यो ।

    पुराना साथीहरू सबैसँग छुटेको दसकौं भयो मेरो । खुब मिल्ने साथी थियो छत्रबहादुर बस्नेत । पुलिसमा भर्तिभएर पेन्सन पछि पश्चिमतिर कतै डेरा जमायो भन्ने सुन्थें । गोरे काले दुई लाइनछोकराहरु थिए, सारुका नातिहरु, दुईमध्ये एक गोरेसँग मेरो विषेश दोस्ती थियो । म पढाइको सिलसिलामा गाउँ छोडेपछि उसँगको दोस्तीले पनि हावा खान पुग्यो । म आसामबाट फर्केर बुटवलमा बस्न थालेपछि एकदिन मेरै घरको बगलमा चालुरहेको बिजुलीको बुलुक(बल्ब)निर्माण गर्ने कम्पनीमा भेटभएको थियो उसँग । म बुटवलमा आफ्नै घरको बसोबासी, उ कुनै कम्पनीको देहाडीवाला कामदार, साथी मसँग खुलेर बोल्नै खोजेन । यहाँसम्मकि मैले भाइकालेको बारेमा कुरो निकाल्दासम्म पनि कुनै प्रतिक्रिया जनाएन । उसँग भेट हुनुभन्दा पहिल्यै नै मैले उसकी हजुर आमासँग सम्बन्धित् कहानी सारु आमाको मजेत्रो शीर्षकमा कथा लेखेर पत्रीकामा छपाइ सकेको थिएँ । शनिबारे बिदाको दिनको उखर्माउलो दिन गोरेसँगनै समापन हुन्थ्यो मेरो। त्यस्तो गहनदोस्तीवाला साथी पनि मसँग मेरै घरको बीसतीस हातपर भेटहुँदापनि नजिकिन किन खोजेन ?

    गोरेसँगको यो कुरोकुन्थोलाई यहि बिट मारौं र खासकुरो तर्फ लागौं ।
    सकेसम्म घर पुगेको बेलुकी नै म पँदेलपोखरा निस्कन्थें । पँदेलपोखरासँग मेरो अतीत जोडिएको छ । घरमा बाले कहिलेकसो एउटा गाई लिएर बाँधिदिन्थे । त्यो गाईलाई चराउन लैजाने ठाउँ नै पँदेलपोखरा थियो । पँदेलपोखराको आयतन आजको जस्तो थिएन । सुबेदारको घरको आगनको अगाडिबाटै सार्वजनिक जग्गा थियो । खोल्साभरी बाँसका झाङ्ग थिए । जताततै टिमुर, चुत्रो र ऐसेलुका बोटहरु थिए । बर्खामा निकै जुका लाग्थ्यो त्यो पाखोमा। जुकालाई टिमुर दलेर भगाइन्थ्यो । नियालोको मसिनो डाँठ काटेर पिच्करी बनाइथ्यो र पिच्कारीको फेँदमा टिमुरका दाना घुसाएर छेस्काले पेलेर पहिले घुसारेको दानालाई पन्च गरिन्थ्यो । पिच्कारीभित्र रहेको हावाको चापले पहिलोवाला टिमुरको दाना पट्यासको आवाजसहित बाहिर निस्कन्थ्यो । टिमुरे पिच्कारीवाला बन्दुके खेलाको स्वाद म गाउँपुग्दा जहिल्यै मनमा पुनरावृत्ति गर्ने गर्थें । पोखरी थियो पाँडेखलकको घरसँग जोडिएको बाटोको बगलमा । त्यो पोखरीमा सलसली किरा पौडी खेल्थे । ती किराको साथमा हामीपनि पौडी खेल्थ्यौं । बर्खाको समयमा भने पानी सङ्गो देखिन्थ्यो । सङ्गो देखिएतापनि उपल्लो टोलको यावत मयल आएर जम्मा हुने ठाउँ थियो त्यो पोखरी । तर पनि त्यो पोखरी हाम्रो स्वीमिङ्ग पुल थियो र त्यसै हिले पोखरीमा हातखुट्टा चलाएर पौडिखेल्न सिकिएको हो ।

    पोखरीको डिलमा दुईवटा अजंगका रुख थिए । एउटा पाकरीको बोट थियो, र अर्को थियो लाकुरीको रुख । लाकुरीको रुखको फाँजो ठूलो थियो । त्यसमा चड्ने हिम्मत जुर्थेन । उता पाकरीको बोटको फाँजो ठूलो भएपनि चड्न सकिन्थ्यो । त्यसका हाँगा पनि बाटोतिर फैलिएका थिए । ती फैलिएका बडेमानका हाँगामा झुलन झुल्नुको असीमित आनन्दको सम्झना जहिल्यै गाउँ पुग्दा लिने गर्थे मैले । पँदेलपोखरा पुगेपछि अझै अगाडि जान खुट्टा तन्किन्थे मेरा । अलिपर पुगेछि आइपुग्ने मचानजस्तो ठाउँमा पुगेर नियाल्थेँ मैले आफुले चहारेका वनजंगल, भीरपखेरा र रेसुङ्गाको पाखो । घर्तीगाउँको घुम्तीमा पुगेर बस्नेतको खोल्सामा खडा रहने ओखरको बोट नियाल्थेँ । ओखरको बोटको त कुरै छोडौं, मोटरबाटोले खाएको भित्ताको कहालीलाग्दो दु:ख देखेर आफै दर्वित हुन्थेँ ।

    एकपटक लामोसमयको अन्तरालमा काम विशेषले म गाउँ पुगेको थिएँ । पँदेलपोखरा निस्केर पुराना दिनहरूलाई ताजा बनाउने, हरेक तिजमा चर्खेपिङ्ग राखिने, हामी सानोछँदा चङ्गा उडाउने पोखराको चौर मासेर बनाइएको मन्दिरका पुजारी पाँडेभाइसँग कुराकानी गर्ने आदि मन लिएर म पुगेँ पँदेलपोखरा । जसै म पुगेको थिएँ पोखरीको सेरोफेरोमा । सोही बखत मसँगै खेलेका, कतिपय राम्रै चिनजान भएका चारपाँच जना गाउँलेहरूको टोली अगाडिबाट आयो । त्यो टोलीमा कुनै समय बेस्सरी मिल्ने दौँतरी पनि थिए । त्यसरी अकस्मात सबै चिनेजानेका गाउँले दाजुभाइसँग जम्का भेट हुनपाउँदा मेरो मन बहुतै पुलकित भएको थियो । भेटको त्यो क्षणिक समयमा पनि थुप्रै कुराहरू मनमा संगालीसकेको थिएँ मैले। गाउँले दाजुभाइहरु मेरो नमस्कारको बदलामा एकछिन उभिएलान् ।

    सन्चो बिसन्चो सोधपुछ गर्लान् । के छ ? कस्तो छ ? कतिदिनको बसाइ छ ? बन्दब्यापार कस्तो छ ? छोराछोरी कत्रा भए ? आड इत्यादि सोध्लान्, बातबिचार आदानप्रदान होला, त्यो सेकेन्डभरको जम्का भेटको बेला मेरा मनमा उब्जेका तरंगहरु थिए । तर ती तरंगहरु, बिचारका फोकाहरू निमेषभरमै बिलाएर गए । ती दाजुभाइहरुले मेरो नमस्कारको बदलामा सामान्य टाको हल्लाउने बाहेक शब्द, वाक्यबाट कुनै प्रतिक्रिया जनाएनन् ।
    हाम्रो समाज यतिविघ्न रुढ किन भयो ? ॠषिमुनिको दुहाइ दिँदादिँदै हामीले परिवर्ततित समाजलाई किन आत्मसात गर्न सकिरहेका छैनौ ? सँगै खाइखेलेका, तरुनी जिस्क्याउँदै वनजंगल गरेका साथीहरूको लामोसमयको भेटघाटमा पनि किन सँगै बसेर सुख, दु:खका कुराकानी गर्न सक्दैनौं ? अरुको अस्तित्व स्वीकार गर्न नसक्ने बानीलाई मनबाट हटाउन किन सकिरहेका छैनौं ?

    यतिका समय व्यतीत हुँदा पनि मैले बेहोरेको त्यो मार्मिक क्षणलाई दिमागबाट हटाउन सकिरहेको छैन । सायद त्यो अपमानको गहिरो घाउ जीवन प्रयन्त रहिरला र विभेदविरुद्धको मेरो कलमलाई उर्जा प्रदान गरिरहला ।
    ७ सनिवार, २०८०
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology