Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आरनदेखि आसामसम्म

आरनदेखि आसामसम्म

  • 2.9K
    SHARES

  • आरनदेखि आसामसम्म

    दीपक विश्वकर्मा (छविलाल)

    कहिलेकाहीँको ससानो गल्ती आफैमा वरदान सावित हुने रहेछ । सम्भावनाका अनेकौ आयामहरूको चर्चा नगरौं । तर ज्ञानआर्जनको क्षेत्रमा सामाजिक परिवेशको हिसाबले मैले प्राप्त गरेको अवसर वेमिसाल थियो । र सो अवसरको सदुपयोग गर्न नसक्नु अर्को वेमिसाल अवतार वा अवसर बन्न पुगेकोपनि सोह्रै आना सहि हो । लगातार पढ्न आर्थिक समस्या थिएन । समस्या त लगातार राजनीति गर्न पनि थिएन । कतिपय ससाना सांस्कृतिक अवरोधवाहेक पार्टीमा जातीय दुर्गन्ध थिएन । नेता, कार्यकर्ता र समर्थक आमजनताहरू चाहिएको बेलामा सहादतको पङ्तीमा खडा थिए ।

    त्यो फाइलिङ्गमा म आफै खडा रहिरहन सकिन । पार्टी राजनीतिभन्दा घरको बेहालीले म विचलित हुन पुँगे । फलतः म प्रवाशी बन्नपुग्दा सम्भावनाका हरढोकाहरू बन्द हुनपुगे । ज्ञान आर्जनका अनमोल वर्षहरू राजीतिको बीउ छर्दा र रोजीरोटीको लागि आसामका जंगलहरूमा भौतारिदा स्वाहा भए । बन्द हुनपुगेका हरढोकाहरूबाट पनि निस्कदोरहेछ, सम्भावनाको एक ज्वाला, जो मैले भारतीय उत्तरपूर्वि दुई राज्यहरू मेघालय र आसाममा नजर गर्नसकेँ । सोही ज्वालालाई समाउँदै आज म किस्सा कहानीहरू जोडिरहेको छु ।

    मैले कतै उल्लेख गरेको थिएँ, एककाठ गुन, एककाठ बैगुन । पढाइ छोडेर राजनीतिमा हामफाल्नु प्रथम बैगुन थियो । दोस्रो बैगुनचाहिँ राजनीति छोडेर बाको खोजीमा प्रवाशिनु थियो । मबाट हुन गएका ती दुबै गल्तीहरू कुनै मानेमा क्षेम्य थिएनन् । बरु एक गल्ती माथि अर्को गल्ती खप्टिन पुगे । धन आर्जनको बाटो निकै अक्करमा हुँदोरहेछ । त्यो अक्करेमार्गलाई सहजरुपमा लिनखोज्नु अर्को गल्ती थियो । तर सोही अक्करेमार्गमा फेला परे हजार सहयोगी हातहरू र म सकुसल जंघार तर्नसकेँ । त्यतिमात्र होइन, विगतमा गरिएका ती अक्ष्येम्य गल्तीहरूको कारणको कारणले तत्कालीन भारतीय समाजमा नेपालीहरूले पाउने अपमान, अपहेलना र प्रताडनाहरूको लामो श्रृङ्खला पैतलाका डोबहरू, ब्रह्मापुत्र सँगसँगै रोइरहेका नेपालीहरू जस्ता यथार्थ आलेखहरू नेपाली छापामिडियामा मार्फत समाजमा छरपष्ट पार्न सफल भएँ ।

    कसरी जात व्यवस्था नेपालीहरूले डोकोमा बोकेर संसारको कुनाकन्दरामा पु¥याएका छन्भन्ने ज्ञान आर्जन गर्न सकेँ । जात व्यवस्थाको सोही कठोर घेराभित्र आमनेपालीहरू एकअर्कालाई आइपर्दा कसरी ज्यान दिनसमेत तैयार हुन्छन् भन्नेजस्ता अनुभव र अनुभूतिहरू छापामार्फत नै नेपाली जनमानसमा प्रसार गर्न सकेँ । यहि रहेछ नेपाली समाजमा प्रचलित उखान “एककाठ गुन, एककाठ बैगुन”को अर्थ । न्यू तुङबुङ बस्थी कसरी र कुनमार्गबाट प्रवेश गर्नेभन्ने मार्गचित्र लिला माड्साबले नै तय गरिदिनुभएको थियो । नङ्पोबाट सिधा बस लाग्नेभनेको शिलाङसम्मको लागि थियो । शिलाङबाट उमराङ्सो पुग्न जोवाइहुँदै आठमाइल पुग्नुपथ्र्यो । आठमाइल उत्रेर गरमपानी जाने गाडीको मेसो मिलाउनु मेरो बुताभन्दा बाहिरको कुरो थियो । यी सबै कुराको भनक लिला माड्साबले पाइसक्नुभएको कारणले उहाँले नै मलाई नङ्पोबाट खानापाराको नजिकै पर्ने जोरावाट भन्ने जंसनमा पुग्ने, जोरावाटबाट नौगाउँ, लंका जाने गाडी समाउने र लंकाबाट बस ट्रक जे मिल्छ, त्यसैमा बसेर २९ किलो उत्रिने सल्लाह दिनुभएको थियो । 
    नङ्पो फर्किने दिनमा म माड्साबभन्दा पहिल्यै उठेको थिएँ । उठेर बिहानको सौचादीकर्म सकेर तैयार हुँदैगर्दा माड्साब पनि उठेर बिस्तरामा बसिसक्नुभएको थियो । “राम्ररी जानुहोला । बाह्रकिलो नउत्रेनि हुन्च । कोइला बोक्ने ट्रकाँ उठेर सिधा तीन किलो जानुस् । उमराङ्सोटा शिलाङ छुट्ने गाडी आठबजेतिर त्यहिँ पुग्च । त्यसैयाँ बसेर शिलाङ जानुहोला । शिलाङाँट ग्वाटी(गुवाहाटी) जाने गाडी छिनछिनमा छुट्चन् । तपैँ दिन छँदै नङ्पो पुग्नुन्च ।”

    चिया चमेना गर्ने समय थिएन, त्यो बिहान मलाई । थुप्रै दिनको रजगज भइसकेको थियो २९ किलोमा मेरो । त्यसैले ट्रकसम्म पु¥याउन लिला माड्साबलाई जानुपर्ने बाध्यता पनि थिएन । झोला बोकेर हिड्नुभन्दा पहिले माड्साबले दिलेरी मन देखाउँदै भन्नुभएको थियो—सामान सेर्पेनी दिदीको घराँ उतारेर खानबस्न यतै आउनुहोला । होटेलाँ खाँदा धेरै खर्च लाग्च । नयाँ ठाममा पैलोदिनमै मेसो मिलाउन सकिन्न । यता आ’को अर्को दिनमा सबै मिलाम्ला ।  लिला माड्साको त्यो पछिल्लो उद्गार भावविल्हव बनाउने उद्गार थियो । कल्पनाको सागरमा डुवाउँछ, उहाँको त्यो उद्गारले मलाई— हैन मान्छे यतिसम्म पनि परोपकारी कसरी हुनपुग्छ हँ ? ममा के खासियत थियो र उहाँले मउपर त्यो दिलेरीपन देखाउनु भएको थियो ? म आफै रनभुल्लमा पर्छु ।

    माड्साबसँग बिदा भएर उही गहिरो कुवाँलाई दाहिना पारेर गल्लीहँुदै लंका गरमपानी हाइवेमा निस्किएँ म । कान्छाको पानदोकान, शर्माजीको मिठाइपसल लगायत कुनै पनि दोकान खुलेका थिएनन् । टाटा ट्रकहरूको आवतजावतभने अनवरत चल्दैथियो । चल्दैगरेका केही ट्रकलाई हात देखाएको थिएँ मैले । एकले मेरो संकेतलाई बुझेको थियो सायद, घचक्क रोकेर खलासीले ढोका खोलेर मलाई भित्र हुलेको थियो । लामो यात्राबाट आएको गाडी भएको कारणले गाडीभित्रको तापक्रम घमाइलो थियो । मलाई बसाइओरी ट्रकले आफ्नो रफ्तार समायो र उही जानपहिचानवाला मार्ग २३, २२, १९, १८, १४ हुँदै १२ किलो पारभएर मगरदाजुको क्वाटरलाई छेकोपार्दै तीनकिलो तर्फ हानिएको थियो ।

    खोलो त¥यो, लौरो बिस्र्यो भनेजस्तै मैले मगर तथा तीलक दाजुलाई बेवास्ता गरेर १२ किलो पार गरेको थिइन । उहाँहरूको अपारमाया र सद्भावको कारणले नै मलाई गरमपानीमा एउटा मुकाम फेला परेको  थियो । १२ किलोको फरेष्ट चेकपोष्ट पारहुँदा घाम माथि उक्लिसकेको थियो । गाडीको झ्यालबाट मगरदाजुको क्वाटरको आगन देखिएको थियो प्रष्ट । दाजु भित्रै बिहानको धन्दा गर्दै हुनुहुन्थ्यो होला । देख्न सकेको थिइन । नङ्पो फर्किदाँ खबर दिएर मात्र जाने वेदु दाजुभाउजुको आग्रहलाई पालना गर्नसक्ने अवस्थापनि बनिरहेको थिएन । किनकि उहाँहरूको क्वाटरमा पसेर गन्थनमन्थन गर्न थाल्नेहोभने फेरि एकाध घण्टा ढिलो हुनजान्थ्यो । त्यसैले उमराङ ड्यामको विशाल फैलावटलाई हेर्दै ५ किलोको उकालो पारगरेर जब ट्रक ३ किलो पुग्यो, म पनि ओर्लिएर उमराङ्सोबाट आउने शिलाङरुटमा चल्ने बसलाई पर्खिन थालेँ ।

    ट्रकबाट ओर्लिएको छोटो समयमा नै उमराङ्सो शिलोङरोड चल्ने सरकारी गाडी टुप्लुक्क आइपुग्यो । नेपाली, बंगाली, आसामी, खसीया हरसमुदायका यात्रुहरूले खचाखच थियो बस । ३ किलोबाट पनि थपिए केही थान यात्रुहरू । त्यसमा म पनि सामेल भएँ । कतिपय यात्रुहरू त्यहिँ ३ किलोसम्मको यात्रामा रहेछन् । उनीहरू ओर्लिनाले केही सिट खाली भएका थिए । खाली मध्येको एउटा सिटमा म गएर बसेको थिएँ । गाडी धेरै बेर रोकिएको थिएन ३ किलोमा । केहीजन यात्रु, उनका सामलतुमल बोकेर गाडी उकालो चढ्यो । त्यो रुटको यात्रा मेरो फिर्तिको यात्रामात्र थियो । अथवा दोस्रो यात्रा भन्नुपर्ने हुन्छ । तीनकिलो पार हुनु र ज्यानलाई जाडोको महशुस हुनपनि एकै साथ भयो । मैले जाकेट २९ किलोबाट नै आङमा भिरेको थिएँ । तीनकिलो पारभएपछि त्यसको चेनपनि तानतुन पारेर घाँटीसम्म पु¥याएको थिएँ ।

    गाडी शिलोङ उमराङ्सो बस भनेपनि लोकल गाडी सरह ठाउँठाउँमा मान्छे ओराल्ने उठाउने गर्दोरहेछ । नङ्पोबाट गरमपानी आउँदा रात पर्न थालिसकेकोले सबै गाउँबस्तीहरू राम्रोसँग नियाल्न पाएको थिइन मैले । फर्किदाभने रहलपहल धोकालाई पुरा गर्न सकेको थिएँ र घामको घमाइलोसँग शिलाङमार्गमा पर्ने गाउँबस्तीहरूलाई मनभरी सजाएको थिएँ । 
    म जुन उद्देश्य बोकेर गरमपानी हानिएको थिएँ, त्यो उद्देश्य पुरा भएको थियो । यद्यपि २९ किलो एक सुनसान बस्ती थियो । राजमार्गको मध्यबिन्दु भएको कारणले मात्र सो ठाउँमा गाडीहरू रोकिन्थे । नङ्पोको तुलनामा २९ किलो चौथाई पनि थिएन । तुङ्बुङबस्ती डुबानमा परेको कारणले त्यहाँका बासिन्दाहरूलाई राज्यको पहलमा लगेर सो ठाउँमा थन्क्याइएको थियो । बस्ती सरेको लामो समयपनि नभएको कुरो माड्साबले बताउनु भएको थियो । जसको कारणले नेपाली किसानहरूको गृहस्थकोस्वरुप पनि बनिसकेको थिएन । सरकारी अफिसको नाममा एउटा फरेष्ट चेकपोष्ट थियो । एकाध काठ कम्पनी थिए । ढंगको स्कुलसम्म बनेको थिएन । तर पनि मेरो नजरमा सम्भावनाका आकृतिहरू गोचर भएका थिए । सम्भावनाको कारणले मात्रै मलाई सो ठाउँ उपयुक्त लागेको होइन, खास भन्ने होभने मलाई दुःख लुकाउने एकान्त थात चाहिएको थियो । जहाँ बसेर म आफ्ना गल्तीहरूउपर पश्चाताप गर्दै धितमारेर धुरुधुरु रुन सकुँ ।

    गाडीले आठ माइल टेक्यो । आठ माइलबाट दक्षिण लाग्नेहोभने अगरतला पुगिदोरहेछ । यो कुरो मेरो जानकारीमा पहिल्यै आइसकेको थियो । गाडी सिधा अगाडि बढ्दै गयो । जोवाइ पुग्नुभन्दा केहि वरै रहेको आधुनिक कृषि औजार कारखानामा मेरा आँखा परे । कृषि औजार कारखानाको स्थापनाको भूतले खेदाउने समयताका म सो ठाउँमा अवलोकन खातिर आइसकेको थिएँ । तर यसपाली सो उद्योगलाई देख्दा पहिलेकोजस्तो मनमा कुनै उत्साह जागेन । किनकि म आरनको सोँचभन्दा कता हो कता पर पुगिसकेको थिएँ । ससानो नोकरी वा कामधन्दा गरेर भएपनि म बालाई घर फर्काएर घन मार्तुलको आवाजबाट सधैसधैका लागि टाढा हुन चाहन्थेँ । जोवाइमै हाम्रा कान्छाबुढाबाका जेठा छोरा चिन्तेजेठाको रजगज थियो । चाहेकोभए त्यहिँ ओलेर एकाध रात कटाउन सकिन्थ्यो । तर त्यो काम गर्नु भनेको समयको नोक्सानी मात्रै हुन्थ्यो । त्यसैले जेठाबाआको क्वाटरतर्फ आँखा लगाएरमात्र मनलाई थामथुम पारेको थिएँ ।

    गाडी अगाडि बढ्दै गयो र बाटोमा कतै रोकाएर खाना तथा नास्तापानी गरिएको थियो । सायद ढाईतीन बजेको समयमा गाडी शिलाङ पुग्यो । शिलाङसँग म यति परिचित भइसकेको थिएँ कि हर कुनाकाप्चा, गल्लीहरू जहाँ लगेर छोडिदिएपनि कुन्दन दाजुहरूको डेरामा टुप्किन सक्थेँ । गरमपानी हानिदा शिलाङका साथीहरू सबैलाई सुनाएको थिएँ र उहाँहरूले उपलब्ध गराउनुभएको वेदु तथा तिलक दाजुहरूको सम्पर्क लिएर गएको थिएँ । साथमा बोकेको त्यो सम्पर्क ठेगानाले मेरो लागि रामवाणको काम मात्रै गरेन, खान, बस्न काम खोज्न समेत बाटो खुलेको थियो ।

    शिलाङ उत्रिएको छिनभरमै गुवाहाटी जाने बस पाइएको थियो । कुनै ढिलो नगरेरै म बसको सिट ओगट्न पुगेको थिएँ । एकहिसाबले घरफिर्तिको यात्रा थियो मेरो त्यो । हप्ता, दशदिनको लामो यात्रापछि पारिवारिक मिलन हुँदैथियो । सोही कारणले पनि मनमा एकप्रकारको उत्साह हुने नै भयो । शिलाङबाट नङ्पो पुग्न पुगनपुग पौने दुई घण्टा लाग्यो होला । नङ्पो पुगेर गाडी साधु गुप्ताजीको होटल रेखामा नास्तापानीको लागि रोकिएको थियो । मलाई उत्रिनुपर्ने पनि त्यहिँ थियो । गाडी रोकिनासाथ म उत्रिएँर हानिएको थिएँ टुकुनेदाइको बुकुरो तर्फ । जहाँ मेरो संसार मेरो पर्खाइमा बसिरहेको थियो ।

    राति सुखदुःखका कुरा भए । “के गरेरा आइस्तो जेठा यत्रा दिनाँ ?” बाले जिज्ञासा पोखेका थिए । हामी उतै जाने भइम बा, मैले बालाई संक्षिप्त उत्तर दिएको थिएँ । जे जस्तो भएपनि बाको मन हो, लामो समय उतै बस्नुपरेको हुनाले पुगनपुग खर्चपानीको कुरो सोधेका थिए । मैले उतापनि साथीभाइ भेटिएको र खानबस्न एक रुप्पे पनि खर्च नभएको कुरो सुनाएको थिएँ । खर्चपानी नलागेको सुनाउँदा उनले अचम्म मानेका थिए । तर केहि बोलेका भने थिएनन् । अनिताजीलाई यावत कुराहरू सुनाएको थिएँ मैले । होटेलमा बास नपाएको, धर्मशालाको नेपाली पण्डितले कठ्याङ्ग्रीदो जाडोमा बासमाग्न जाँदा मन्दिरको पिँडी उक्लन नदिएको, मगर थर लेखाउने एकजना दमाई थरका दाजुले लगेर आफ्नो सरकारी क्वाटरमा सुताएको तथा वेदुलगायत अन्य दुईजना दाजुहरूको आतिथ्यता ग्रहणगर्दै २९ किलोपुग्दासम्मका सबै वृतान्तहरू सुनाएको थिएँ ।

    नङ्पो छोडेर गरमपानी जाने भन्नेकुरो एककान दुइकान मैदान भयो । २९ किलो पुग्ने रुटको कुरो गर्दा मोतिदाजुलाई उताको बारेमा धेरैकुराको जानकारी रहेछ । उहाँको बसोबासको खास थलो लंका भएकोकारणले उहाँले जानेजति कुरो मलाई सिकाउनु भएको थियो । “एकपटक शिलाङका साथीहरूलाई पनि कुरो सुनाउनु पर्छ” भन्ने हाम्रो पारिवारिक सल्लाहअनुरुप म मेसो मिलाएर शिलाङ पुगेको थिएँ । एकरात तील कार्की दाजुको घरमा बासबसेर सबै साथीहरूसँग बिदावारी भएको थिएँ । सबैको एउटै आसय थियो, कुनै विपत प¥योभने तुरुन्त शिलाङ खबर गर्ने र वेदु दाजुको नियमित सम्पर्कमा रहने । किनकि वेदुदाजु हरहप्ताजसो अफिसको काम लिएर शिलाङ आइजाई गर्नुहुँदो रहेछ । पार्टी तथा प्रवासी संगठनको काममा पनि कुनै न कुनैरुपमा लागिरहने र त्यसको रिपोर्ट उपयुक्त समयमा पठाउने ।

    सो विदाइको मेलोमा शिलाङ पुगेता पनि मेघालय सेक्रेटरियटमा चौकिदारको काम गर्ने नाताका भिनाजुलाई भने भेटिन मैले । कुनै समय मैले उहाँको मेघालय पुलिसमा भर्ना हुने दिलेरी सुझावलाई लत्याइदिएकोे थिएँ । उहाँले भन्नुभएको थियो—पुलिसमा भर्ना होऊ साला । हाकिमहरूले मेरो कुरो मान्चन् । सरकारी मान्छे बनिन्च । पछि पेन्सन हुन्च । तर मैले बरु लेवर काम गर्निहुम् भेना । लेवर काम गर्दागर्दै ठेकेदार बन्निहुम् । भर्ति त हुँदैहुन्न । असफल मेरो फुटानी देखाउन कुन मुखले भिनाजुको अगाडि जानु ? हिम्मत जुराउन सकिन र दाजु प्रेम खनाल, कुन्दन भट्टराई लगायत तमाम दाजुहरूसँग जोरावाट हुँदै २९ किलो पस्ने कुरो सुनाएर बिदावारी भएको थिएँ । 
    अन्ततः साइत जराइएको थियो नङ्पोबाट बिदा हुने । दाजु रणबहादुर तथा मोति पाण्डेलगायत पार्टी सम्पर्कका केही साथीहरूले नतुन गन्तब्यको शुभकामना दिनुभएको थियो । नङ्पो छोड्ने कुरो भएपछि बा उदास भएका थिए । उनको दुइढाई वर्षको नङ्पो बसाइको सेतु भताभुङ्ग हुँदै थियो । मकैबारी उनको प्रीय ठाउँ थियो । जहाँ उनको कामको थालनी भएको थियो । समयको खपतसँगै जेजस्तो भएपनि रहेबसेको ठाउँ सबैलाई आफ्नो र प्यारो लाग्नु स्वभाविकै हो । घर छोडेर मनग्ये गल्ती गरिसकेको हुनाले उनले मेरो निर्णयउपर प्रतिवाद गर्नभने हिम्मत गरेनन् । “ठ्रूलाले जे गर्ला ठीकै गर्ला” बाको मउपर पूर्णविश्वास थियो । नभन्दै एकदिन आरन उखेलियो । औजार, हातहतियार पोको पारियो । ओड्ने ओछ्याउने लत्ताकपडाको गुण्टा बनाइयो । खागीको जस्तो एउटा झोला थियो, त्यसमा रहलपहल कागजपत्र, मेरो पृथ्वीनारायण क्याम्पस पोखराले जारीगरेको आइएको परिचयपत्र, चाइनिज पेन, नेलकटर तथा पारिवारिक फोटाहरू कोचारियो ।

    २९ किलोका लिला माड्सावको सल्लाहको कारणले मात्र होइन, यता मोति पाण्डेदाजुको सल्लाहपनि मिलेको कारणले कुनै मालबाहक ट्रकमा चढेर हामीचारजना जोराबाट ओर्लिन पुग्यौं । सबैको सल्लाह थियो, सकेसम्म राज्य परिवहन निगमको बस समात्ने । लामो पर्खाइपछि बस पाइएको थियो । तर त्यो बस लंकासम्मको थियो वा नौगाउँसम्मको थियो ? समयको फेरोले सम्झनालाई मेटाइदियो । तर अबेर साँझपख लंका पुगिएको थियो र उमराङ्सो जाने अन्तिम बसको यात्रा मार्फत राती ८ बजेतिर सेर्पेनी दिदीको आगनमा सामान खसाल्न पुगिएको थियो ।

    अन्ततः हामी गरमपानीको पल्लोछेउँ न्यू तुङबुङ बस्ती वा २९ किलो पुग्यौं । सो यात्रा बहुतै लामो थियो । सो लामो यात्रामा कोही कसैसँग बोलिएको थिएन । कसैको मनमा कुनै उत्साह नै थिएन । जाँगर थिएन र थिएन कुनै उज्यालो कुराको मेलो । मैले तय गरेको त्यो पारिवारिक यात्रा जसमा बाको साथ थियो, र पनि भरोषायोग्य साथ थिएन । किनकि बा मेरो मनको इसारामा चल्ने भइसकेका थिए । अनिताजी आफैमा एक नारीचेत हुनुहुन्थ्यो र मैले जे गर्छु त्यहिँ उहाँको बर्तमान र भविष्य थियो । साथमा बाको छोरो माइलो थियो । जसको जुंगाको रेखीसमेत बसिसकेको थिएन । एकहिसाबले त्यो बालकसँग सल्लाहमसबिरा गर्ने कुरो हुन्थेन । र त त्यो लामो यात्रा हाम्रो गुपचुप यात्रामा परिणत भएको थियो ।

    २९ किलो पुगेपछि बसबाट सामान ओरालियो । झिटिगुण्टा एकएक गरेर लाइन लगाइयो । तर एउटा खागीको रङ्गवाला झोला बसको छतबाट कतै खसेछ । त्यहि खसेको झोलाले केहिबेर सबैको मनलाई सुन्य बनाएको थियो । लंकामा बसबाट सामान ओरालेर गरमपानी(उमराङ्सो) आउने बसमा सामान थन्क्याउँदासम्म त झोला सहिसलामत थियो । लंका २० किलोको बीचकतै खस्न पुगेछ झोला । र पनि झोला हाम्रो सर्वश्व थिएन । बचेका ती सामानै हाम्रा सर्वश्व थिए । सामान जोरजाम गर्दै सेर्पेनी दिदीसँग मैले पारिवारिक जानपहिचान गराएको थिएँ । परिचयपश्चात म एकल यात्री रहेनछुभन्ने दिदीलाई विश्वास भएको थियो । सामानहरूलाई कोठामा थन्क्याउन दिदीले पनि सहयोग गर्नुभएको थियो ।

    उहाँले सामान थन्क्याउने काममा मात्र सहयोग गर्नुभएको थिएन, रातीको भोजनको बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । तर हामीलाई २९ किलो पुगेको राती लिला माड्साबले आफ्नो कोठामा आउने सल्लाह दिइसक्नुभएको कुरो दिदीलाई सुनाएको थिएँ मैले । कोठामा सामान थन्क्याइसकेर हामी लागेका थियौ लिला माड्साबको कोठातिर । जहाँ हामीलाई रातमात्र विताउनु थिएन, सोही रातको समापन पश्चात आसाम बसाइका घामछायाँहरूको स्वागत पनि गर्नु थियो । र त्यहि रात नै आसाम बसाइको मेरो औपचारिक बसाइ बन्नपुग्यो । जहाँ मैले अनमोल बाह्र वर्ष रोजिरोटीको खोजीमा रातदिन एक गरेँ ।

    गुल्मीको सदरमुकामको नजिकै पूर्वतर्फ अवस्थित भाडगाउँमा जन्मिएको हुँ म । बाले ठूलै हुँदाताकासम्म भन्थे, आराना जड्यौरीओ कोटाँ पोको पारेर हुर्काको हुम् ठूल्केटा तलाँ मैले । त्यसैले मेरो खास अतित भनेको आरन नै हो । त्यहि आरनहुँदै जीवनका सुकुमोल पाइलाहरू बामेसर्न थाले र अनेको ठककर, हण्डर, दुःख, कष्ट झेल्दै सुदूरपूर्व आसामको २९ किलोमिटरस्थित लिला कालिकोटा माड्साबको दैलोमा पुगेर टक्क अडिए । 

    (ऋङ्खलाको समापन अंक)

    २०८० मंसीर २८
    बुटवल ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology