Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गन्तब्यको अन्तिम विन्दु

गन्तब्यको अन्तिम विन्दु

  • 1.9K
    SHARES

  • गन्तब्यको अन्तिम विन्दु

    -दीपक विश्वकर्मा

    नङ्पोप्रति यतिबिघ्न वितृष्णा मेरो मनमा कसरी पैदा भयो ? म सो ठाउँबाट भाग्न किन त्यतिसाह्रो उधिग्न थिएँ ? नङ्पोको मेरो बसाइ मेरोलागि किन गलपासो भइरहेको थियो ? त्यसका यथेष्ट काराणहरू थिए । यद्यपि म बाको खोजीमा पहिलोपटक नङ्पो पुग्दा जो बेहाली अवस्थामा भेटेको थिएँ, र पनि रोजाइमा परेकै ठाउँ थियो । तर रहँदाबस्दा, दिनहरू घर्किदैजाँदा जब बाको पुरानो आदत नहराएको देखेँ, म आफैले गर्नसक्ने कुनै कामधन्दा फेला परेनन्, जे गर्छुभन्ने हिम्मत गरेको थिएँ त्यसमा असफलता हात लाग्यो, नङ्पोप्रतिको मोहभंग हुनुका साङ्गोपाङ्गो कारणहरू यिनै थिए । सोही कारणले पनि मैले लिला माड्साबलाई रहनबस्न र बाको आरन चलाउन मिल्ने कोठाको बन्दोबस्त गर्न स्वीकृति दिएँ ।

    रातीको सपना साँच्चै बेमिसल थियो । मानिसको जीवनमा समय यस्तो इलाज रहेछ, जति बित्दैजान्छ, त्यति पुराना घाउहरू पुरिदै जाँदारहेछन् । यद्यपि उमेरको हिसाबले मैले देख्नेगरेका हरसपनाहरू बेमिसाल नै थिए । मिसनको छात्रवृत्ति प्राप्तिपछिको सपना महासपना थियो । बुर्जुवाशिक्षा बहिष्कारपश्चात कास्कीका पाखापखेरामा घुमफिर गर्दा देशको शासक हुने सपना बायुपंखे सपना थियो । नङ्पोमा देख्ने गरेको सपनाहरू भने त्यतिठूला थिएनन् । बाले लगाएको ऋण तिर्ने र कम्तीमा बुटवलमा एउटा पिलरसहितको घर ठड्याएर बसोबास गर्ने । समयक्रममा मेरा हरसपनाहरू तासको घरजस्तै भत्किदै गए र अन्त्यमा रोजीरोटीको लागि आसाम राज्यको त्यो पल्लो छेउँ गरमपानीको विशाल जंगलमा हराउन पुगँे ।

    बिहान लिला माड्साब र म सँगसँगै उठ्यौं । उहाँलाई नौबजे नै स्कुल खोल्न जानु पर्ने । स्कुल खोल्ने भन्नाले परित्यक्त गोठको कुँडो पकाउने, राखनधरान गर्न बनेको कोठालाई खोल्नु थियो । पढाइको काम त खुला गोठमा नै हुन्थ्यो । प्रस्तावित जग्गामा स्कुल बनिसकेको थिएन । अघिल्लो दिन माड्साबले न्यू तुङबुङ बस्ती चिनाउने सन्दर्भमा मलाई त्यहाँसम्म पनि पु¥याउनु भएको थियो । खाना आफैले बनाउनु पर्ने । कुवाबाट पानी बोकेर आफैले ल्याउनु पर्ने । माड्साबका बिहानका धन्दा थुप्रै थिए । त्यसमा म थपिएको कारणले भान्साको मेलो पनि थपिएको थियो । खाल्डो खनेर बनाइएको चर्पिमा आलोपालो दुबैजना निबृत्त भएका थियौं । जाडोको समय भएकाले नुहाउनु पर्ने झमेलाबाट टाढा थिएँ म । तर माड्साबभने बहुतै धार्मिक स्वभावको हुनुहुँदोरहेछ । उहाँलाई थोरै पानीले भएपनि आङ पखाल्नु पर्ने । सरसफाइपछि मन्त्र जप गर्नुपर्ने । धुपबत्ती जलाएर प्रतिमाको अगाडि राख्नुपर्ने । फेरि मास्टरजस्तो मान्छेले गन्याउने ज्यान लिएर स्कुल जान पनि भएन । उहाँले चिसै पानीले त्यो सब कर्म गर्नुभएको थियो, जो एक सभ्य मानिसले गर्ने गर्दछ ।

    लाइमिली पकाएका थियौं त्यो बिहानको खाना हामीले । दाल, तरकारी, सामान्य चटनी बनेको थियो । कामको धपेडीले गर्दा त्यो बिहान मेरो डेराको बारेमा सामान्य कुराकानी मात्र गर्न सकिएको थियो । खाना खाँदैगर्दा माड्साबले नै कुरो निकाल्नु भएको थियो—म स्कुल गएर आउँचु । तपै यतै कोठामा बस्दै गर्नुस् । मनलाग्छ भने बजार घुम्नुस् । सबैसँग चिनापर्चि गर्दै गर्नुस् । बंगाली, देशवाली सप्पैले नेपाली बुझ्छन् । तपैंको लागि सेर्पेनी दिदीको घर नै उपयुक्त हुन्छ । घरको आगन फराकिलो छ । त्यसैमा आरन लगाउन सकिन्च । भित्र कोठा पनि छन् । बस्न मिल्छ । पछि बस्दै गरेपछि बन्दोबस्त पनि हुँदै जान्च । मैले भनेसी दिदीले भाडामा दिन नाइनास्ती गर्नुन्न ।

    खाना खाइओरी माड्साब स्कुलतिर लाग्नु भयो । कोठामा के बसिरहनु ? पारिलो घाम लागिरहेको थियो बाहिर, गुन्द्रीचकटी यस्तै केही ओछ्याएर घाम ताप्दै समय बिताउन थालेँ म । नङ्पो छोडेको पनि लामो समय भइसकेको थियो । म यहाँ र यस अवस्थामा छु भन्ने खबर पु¥याउने कुनै साधन थिएन । एउटा सम्पर्क सेतुको त्यान्द्रो मात्र थियो मसँग । देवदूतीय अवतारी लामा बाको सल्लाहलाई पछ्याउँदै नङ्पोबाट गरमपानी हानिएको थिएँ । गरमपानी जानुभन्दा पहिले शिलाङका साथीहरूसँग गरमपानी क्षेत्रका पार्टीसम्पर्कका साथीहरूको नामठेगाना बोकेर हिँडेको थिएँ । वेदु दाइभाउजुलाई म २९ किलो न्यू तुङ्बुङबस्तीमा छु भन्ने जानकारी थियो । र यो पनि जानकारी थियो कि म एक सजातीय मास्टरको संरक्षणमा आश्रित छु । हो, त्यहि सम्पर्कको सेतुले मलाई कथंकदाचित तलमाथि भइहाल्यो भने पारिवारीक खोजतलासको बाटो खुल्थ्यो । तत्तत् विषयहरूको कारणले पनि मेरो नङ्पो बसेका परिवारसँग बिछोडको अवस्था सिर्जना भइसकेको थिएन ।

    कुरो गरे कुरैको दुःख, त्यो दिन माड्साब स्कुलबाट नर्फिकदासम्म म कतै गएको थिइन । स्कुल जाने बेलामा माड्साबले बजार घुम्ने सल्लाह नदिनुभएको होइन, तर म आफैलाई घुम्न जाने जाँगर चलेको थिएन । जाने भनेको बस्नेत होटेल हो, अथवा कान्छाको पान दोकान । त्यहाँ जानसाथ कुरोले कुरो तान्छ । कहाँ, के, कसरी, किन, कति कारणले आदि इत्यादि प्रश्नहरूको बौछार खनिन थाल्छ मउपर । उनीहरूको प्रश्नको उत्तर दिनुभनेको आफै उदांगो हुनु थियो । सबैसँग कति खोल्नु अधमरो जीवनवृतान्त । त्यही भएर सो दिन जबसम्म लिला माडसाब स्कुल सकेर नआउँदासम्म घाम तापेरै समय सकेको थिएँ ।

    ढाइतीन बजेको समयमा माड्साब स्कुल सकेर आउनु भयो । स्कुलको आफै बोक्सी आफै झाक्री हुनुहुन्थ्यो लिला माड्साब । आफैले खोल्ने, आफैले अफिस सफाइ गर्ने । आफैले विद्यार्थी बसेरपढ्ने परित्यक्त गोठ सफागर्ने र एक्लैले भएजतिको कक्षालाई पढाउने । सेतै पहिरनमा कोठामा पस्दापस्दै माड्साबले सोध्नुभएको थियो—यताउता घुम्नु भओ कि नाइ ? कतै गैन माड्साब आज । घाम ताप्ने, सुत्ने गरेर दिन कटाएँ । मैले उहाँलाई जवाफ दिएको थिएँ । त्यसो भा’ चा सा नि खानु भ’को छैन होला । म कोठामा नभर के भो र ? बनार खानु पर्थो नि ।

    अहो ! लिला माड्साबको मउपरको त्यो प्रेम । कुने नातोसाइनो, यहाँसम्मकि भैसी बेचेको सम्बन्ध पनि थिएन हामी दुइको बीचमा । लामा बाको सुझावलाई पछ्याउँदै १९ किलो जाँदा भेट हुनुभएका चन्द्रबहादुर क्षेत्रीको सुझावअनुरुपको सजातीय सम्बन्धमात्र थियो लिला माड्साबसँग । “म पनि काम खोज्दैगर्चु, तिमी पनि एकपटक २९ किलो जाऊ । त्याँ तिम्रै जातिका एकजना मास्टर छन् । तिन्लाई भेट ।” यहि मन्त्रलाई पछ्याउँदै २९ किलो पुगेको थिएँ म । 
    सबै कुरोको मेसो मिल्दै गयो । सामान्य गाडीभाडा बाहेक खानबस्न एकपैसा पनि खर्च गर्नुपरेको थिएन त्यो हप्ता दश दिनको गरमपानीको रजगजमा । जहाँ बास बस्न गएपनि मासुभातको जोहो हुन्थ्यो । मासुभात नजुरेपनि दालभात तरकारीको कमी हुन्थेन । एक जोगी जस्तै फिरन्ता मुसाफिरलाई त्यो सब परिबन्ध किन र कसरी जुरिरहेकोथियो ? मेरो परिकल्पनाभन्दा बाहिरको विषय बनेको छ आजसम्म पनि ।

    हातमुख धोइओरी माड्साब फ्रेस हुनु भयो । म पनि गुन्द्री उठाएर भित्र पसिसकेको थिएँ । “अब चा बनाम, खाम र सेर्पेनी दिदीसित कुरो गर्न जाम” माड्साबले स्टोभ सल्काउन थाल्नु भयो । स्टोभ सल्काउन त मलाई पनि आउँथ्यो । बुर्जुवाशिक्षा बहिष्कारको अघोरी समयमा चिप्लेढुङ्गामा डेरा लिएर बस्दा आफैले खाना बनाएर खान सिकेको थिएँ । डेरामा दाउरा बाल्ने कुरो हुन्थेन । स्टोभ किनिएको थियो—सुतलीवाला । तर माड्साबको डेरामा दमवाला थियो । बसेर हावा भर्नुपर्ने । सबै काम माड्साब आफैले गर्नुभयो र चिया बनाएर साथमा बिस्कुट पनि दिदै भन्नुभएको थियो— भोक लाग्ने बेला भओ । मैले त स्कुलाँ होटेलाँट मगार खा’थेँ । तपैँले त आफै बनार खाको भा नि हुन्थो । अब त नौलो हुनुहुन्न तपैं । धक मान्नु पर्दैन के । उहाँका मप्रतिका हरेक बचनहरू अमृत समान हुन्थे । गहिरो सहानुभूति थियो सायद उहाँको मउपर । चिया खायौं । साथमा बिस्कुट पनि खायौं । खाइसकेर उहाँले नै भन्नुभएको थियो—लौ जाम अब, बजार तिर ।

    उही पानीको गहिरो कुवाँ, ठेकेदारको परित्यक्त विशाल लेवर क्वाटर, होटेलको करेसो अथवा ती दुई संरचनाको बीचको मेरो सन्दर्भमा विशाल हुँदैगएको गल्छी पार गरेर माड्साब र म सरासर पुगेका थियौं बस्नेत होटेलको प्राङ्गणमा । 
    बस्नेत होटेलका साहुले मास्टरजीको उही सम्मान गरे, जो हिँजो गरेका थिए । मैले पनि नमस्कार टक्र्यााएको थिएँ बस्नेत साहुलाई । उहाँहरूको बीचमा स्कुल लगायत यावत विषयमा कुरोकानी भएको थियो । कुरोको अन्तिम चुरोभने ममाथि पुगेको थियो । होटेल मालिक र लिला माड्साबको बीचमा सेर्पेनी दिदीसँग कुरोकानी गर्नेभन्ने सहमति भएको थियो । त्योभन्दा पहिले मलाई लगेर घर देखाउनेभन्ने कुरो भएको थियो । 
    बस्नेत होटेलको बगलमै थियो सेर्पेनी दिदीको घर । जुन घरलाई हिँजो नै उहाँहरूले मलाई सामान्य देखाइसक्नु भएको थियो । लामो नेपाली टाइपको घर थियो त्यो । कच्ची बाँसको कप्टेराले बनाइएको गारो थियो घरको । बाहिरबाट बाक्लो माटोले पोतेको कारणले झट्टहेर्दा इट्टाको गारोजस्तै भान हुन्थ्यो । दिदीले भाडामा दिनी हुन् या हैनन् ? त्यसको छिनोफानो भने गर्नुपर्ने थियो । बस्नेत साहु र लिला माड्साबको बीचमा त्यसैको बारेमा कुरो भएको थियो र अन्त्यमा माड्साबको जिम्मामा परेको थियो सो जम्मै अविभारा । 
    कोठा मै चिया खाएर निस्केको भएता पनि होटेल साहुको चिया खाने आग्रहलाई लिला माड्साबले इन्कार गर्न सक्नुभएन । लाइन होटेल भन्दापनि हुनेखालको भोजनालय थियो त्यो होटेल । चियाचमेनाको साथमा दारुपानीको बन्दोबस्त सबै हुने छाँटकाँट देखिन्थ्यो बस्नेत होटेलमा । माड्साबलाई चियाको पैसा तिर्न पर्दोरहेनछ । त्यहि घानमा म पनि परेको थिएँ । 
    चिया खाइओरी सेर्पेनी दिदीको घरतर्फ ओर्लियौं हामी । मनमा एकप्रकारको तातो ज्वालामुखी छचल्किइरहेको थियो मेरो । गरमपानी अथवा उमराङ्सो मिसनको अन्तिम बिन्दु बन्न पुग्दैथियो सेर्पेनी दिदीको घर मेरा लागि । अनेकौ बास, ठक्कर, गन्थन, मन्थनको पूर्णबिरामको धर्सो तानिदै थियो सेर्पेनी दिदीको त्यो बाँसले बनेको घरमा । संयोग पनि बडो बिचित्रको जुरिरहेको थियो मसँग । पहिलोपटक बालाई खोज्दै मकैबारी पुग्दा राजमार्गको छेउँमा सडक निर्माणको दौरानमा कामदार बस्न बनाइएको एकपाखे बाँसकै झोपडीमा बालाई फलाम पिटिरहेको देखेको थिएँ । पछि आरनलाई स्थानान्तर गरेर नङ्पो पु¥याउँदा पनि त्यहि बाँसकै घरमा ओत लाग्न पुगेको थिएँ । अन्तिममा हप्तादश दिनको अनेकौ खोज तलासपछि पनि उही बाँसकै घरमा टुप्किएको थिएँ । 
    पुग्यौं सेर्पेनी दिदीको दैलोमा हामी । दिदी घरमै हुनुहुन्थ्यो । त्यसरी अपर्झट आफ्ना छोराछोरीलाई पढाउने मास्टर घरमा आएको देख्दा शुरुमा अत्तालिनु भएको थियो दिदी । सो कुरोको भेउ लिला माड्साबले चाल पाउनु भएको थियो सायद, दिदीलाई नमस्कार गर्दै भन्नुभएको थियो—एउटो काम लेर आको छु दिदी तपैंकाँ । केही दिनला यी भाइलाई कोठा दिनु परो । परिवारलाई साथमा राखेर बस्नि हुन् । माड्साबको बोल्तीको लवजमा उत्तरपूर्वी भारतमा आमनेपालीको शब्दोच्चारणको मिठास मिसिन्थ्यो । 
    सेर्पेनी दिदी खर्लप्पै हिमाल बोकेर दुईहजार किलोमिटर टाढा गरमपानी पुग्नुभएको रहेछ ।

    उही बख्खुवाला लवाइ, लामो सेर्पेनी चेहरा, लेघ्रो तानेर बोल्ने उही हिमाली लवज, माड्साबले दिदीलाई मेरा बाले गर्ने कामको प्रकृति, हाम्रो पारिवारीक संरचना आदिबारे सबै बताउनु भएको थियो । घरको अगाडीको खाली जग्गा अथवा आगनलाई आरनकोरुपमा सञ्चालन गर्ने कुराको प्रतावसमेत माड्साबले दिदी समक्ष राख्नु भएको थियो । भाडाको कुरो, बिग्रेभत्केको मर्मतसंहारको कुरोको छिनोफानो हुँदै अन्त्यमा हप्तादिन भित्र हाम्रो परिवार २९ किलो आइपुग्ने बाचा गरिएको थियो । 
    ती बचनहरू आफैमा परिबन्धहरू थिए । साथै नवक्षितिजको त्यो अपूर्व उज्यालो पनि थियो । बस्नेत होटेलका साहु बस्नेत दाजुको दिलेरी सुझाव, लिला माड्सावको सागरजस्तै माया र दिदीको दिलेरी मनले मेरो गन्तब्य बन्न जाँदै थियो, विशाल गरमपानी क्षेत्रको २९ किलो बस्ती अथवा न्यू तुङबुङ बस्तीको त्यो अन्तिम बिन्दु । 
    एउटा बिन्दु फेला पारेको थिएँ मैले । त्यो बिन्दुका प्रथम अभिषेक थिए देवदूतीय लामा बा । जसले मलाई मेरो बेहालीबाट उकास्न दिलेरी सुझाव दिएका थिए । सोही सुझाव र सल्लाहलाई पछ्याउँदैजाँदा गन्तब्यको बिन्दु फेलापार्न सफल पनि भएँ म । 
    २०८० मंसीर १४
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology