बुटवल,भदौ १९-
रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै थप खुकुलो बनाइने भएको छ।
शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो।
रुपन्देहीका उद्योगी व्यवसायीका संस्थाहरुले निधेषाज्ञाको अवधि थप नगर्न दबाब दिइरहेको बेला उद्योगी व्यवसायीको निर्णय पुनरावलोकन गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए।
तर भोलि शनिबार रातीसम्म निषेधाज्ञाकै अवधि कायम रहने भएकाले शनिबार मात्रै कुन मोडालिटीमा खुला गर्ने भन्ने निर्णय गरिने उनले बताए।
व्यवसायीहरुले सुरक्षाका सबै मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तहस्तरमै अनुगमन समिति बनाउने निर्णय पनि भएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा डिसिसिएमसी रुपन्देहीका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरुबारे शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने निर्णय भएको छ।
आइतबारदेखि रुपन्देहीमा निषेधाज्ञाको कस्तो मोडालिटी अपनाउने भन्ने आदेश शनिबार जारी हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले जानकारी दिए।
याे पनि पढ्नुस् :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)