बुटवल,असोज २१।
बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका युवा व्यवसायी सुरज भट्टराईले उद्योगी व्यवसायीका समस्या समाधानमा एक्सन ओरिएन्टेड भएर काम गर्ने बताएका छन् ।
हरि प्रसाद अर्यालको साझा समावेशी प्यानलबाट उम्मेदवारी दर्ता गरेका भट्टराईले उद्योगी व्यवसायीले कच्चा पदार्थ आयातमा भोग्नुपरेको भन्सार दरको समस्या, ट्रंक लाइन सहित विद्युतको समस्या,भीसीटीएस समस्या, बैंक ब्याज दरको समस्या, एकीकृत सम्पत्ति कर, चर्को घर भाडा, स्वदेशी उद्योगको संरक्षणमा राज्यको उदासिनता,मोतिपुर औद्योगिक क्षेत्र स्थापनामा ढिलाई जस्ता मुख्य समस्या समाधानलाई आफूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।
समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रकृयामा सबैको सहभागिता र नेतृत्वमा समावेशिता मुख्य नारासहित हरिप्रसाद अर्याल नेतृत्वको प्यानलले अघि सारेका ११ बुंदे प्रतिवद्धता संगै भट्टराईले आफ्नो २८ वर्ष लामो व्यवसायिक अनुभव र २ कार्यकाल उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य भएर काम गर्दाको अनुभवबाट पाठ सिकेर अब उद्योगी व्यवसायीका समस्यामा स्थानीय तह, प्रदेश र केन्द्र सरकारसम्म नीतिगत सुधारमा रणनीतिक योजना बनाएर नेतृत्वदायी भूमिकासहित काम गर्ने प्रतिवद्धता जनाए ।
‘उद्योगी र व्यवसायीलाई आइपर्ने हरेक समस्यामा जुनसुकै समयमा तत्काल उपस्थित भएर व्यवसायीलाई समस्या पर्दा संघले साथ दिन्छ भन्ने अपनत्व गराउंछु’–भट्टराईले भने–‘म कुरा भन्दा काममा विश्वास गर्ने भएकाले एक्सन ओरिएन्टेड हुन्छु ।’ औषधि व्यवसायी संघको तत्कालीन लुम्बिनी अञ्चल समिति उपाध्यक्ष र रुपन्देहीको संस्थापक अध्यक्ष भएर १२ सय व्यवसायीको कुशल नेतृत्व गरेको, व्यवसाय संगै औषधि उद्योग समेत सञ्चालन गरेकाले उद्योगी व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको हुंदा सरोकारवाला सरकारी निकायसंग नीतिगत सुधारका लागि वहस र पैरवी गर्न सहज हुने भट्टराईले बताए ।
खुम्चिंदै गएको बुटवल उद्योग वाणिज्य संघलाई विस्तार गरी जिल्लाको मात्र नभई प्रदेशकै नेतृत्वदायी संस्था बनाउन पनि आफूले योजना बनाएको भट्टराईले बताए । अहिले बुटवलको बजारमा देखिएको समस्या समाधान गरेर बजारलाई पहिला भन्दा पनि थप चलायमान गराउन पनि आफ्नो भूमिका रहने उनले प्रतिवद्धता जनाए । उम्मेदवारी घोषणादेखि दर्तासम्म आइपुग्दा उद्योगी व्यवसायी मतदाताबाट धेरै राम्रो रेस्पोन्स आएकाले आफ्नो र हरि अर्याल नेतृत्वको सिंगो प्यानलको जित निश्चित भएको भट्टराईले दावी गरे ।
एक दशक बढी अस्पताल र प्राविधिक शिक्षा पढाई हुने सँस्थाको सँचालकको अनुभब समेत रहेका भट्टराईले संघको गौरबपुर्ण इतिहासलाई जोगाएर,बर्तमानमा समस्याको समाधान गर्दै घोषित उदेश्य प्राप्तिको लागि निरन्तर क्रियाशिल रहने, व्यवसायीक समस्याको समाधान र नीति निर्माणमा बुटवलका सबै संघ संस्थासंग सहकार्य गर्ने,संघको संगठनात्मक जीवनमा अग्रजलाइ सम्मान, समकक्षिसंग सहकार्य र नया पुस्तालाई उत्प्रेरणा दिने वातावरण तयार गर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)