बुटवल,असाेज १० ।
बुटवल १७ रानीगञ्ज स्थित खेलमैदानमा प्रथम रानीगञ्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ ।
शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गर्न लागेको क्लबका मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।
रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा १ सय स्टल रहने क्लब राम दर्जीले जानकारी दिए। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गर्ने छन् ।
महोत्सवमा महानायक राजेश हमाल,बद्री पंगेनी,प्रमोद खरेल,प्रिति आले ,दुर्गेश थापा,पशुपति शर्मादेखि लिएर ४० जना राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।
अध्यक्ष राम दर्जीले थोरै खर्चमा महोत्सव व्यवस्थापन हुने बताए। उनले महोत्सव सञ्चालन गर्न ४० लाख खर्च हुने बताए । महोत्सवमा खाद्यान्न एव फेन्सी सामग्रीका स्टलहरू रहने छन् भने स्टल शुल्क ८ देखि १२ हजार तोकिएको छ ।महोत्सवमा प्रवेशका लागि १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ७० रुपैयाँ तथा अपाङ्ग असहाय तथा ज्येष्ठ नागरिक लाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको क्लबका सचिव अनिल सुनारले जानकारी दिए ।
महोत्सवमा ५० लाखको कारोबार र ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको संचालन उद्घाेषक बिकास भट्टराइले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)