बुटवल,असाेज ६ ।
सामाजिक क्षेत्रमा क्रियाशील मानव कल्याण मित्र मञ्च नेपालको पांचौ साधारण सभा भएको छ । मञ्चको शनिबार पांचौ साधारण सभा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गरेर नेपाल ल्याएर घरपरिवारलाई बुझाउने काम महत्वपूर्ण भएको बताउंदै महिला, बालवालिका तथा मानवीय क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्ने प्रतिवद्वता जनाए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानव कल्याण मित्र मञ्चले राज्यले गर्ने काम गरेको उल्लेख गर्दै भारतमा अलपत्र परेका नेपाली नागरिकलाई उद्वार गर्ने संस्थालाई प्रशासनले सहयोग गर्ने बताए ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले मानवीय क्षेत्रमा काम गर्नेगरी संस्था स्थापना गरिएको बताए ।
महिला तथा बालबालिका, वृद्ववृद्वा, शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा विनासर्त काम गरेर मानवीय सेवा गर्ने अध्यक्ष अर्यालको भनाइ छ ।
मञ्चले साधारण सभामा समाजसेवी, संस्थाको अक्ष्यकोषका लागि सहयोग गर्ने सहयोग दाता, आजीवन सदस्यहरुलाई सम्मान गरेको छ । समाजसेवी तथा सहयोगी पुरुषोत्तम बस्याल, पुनराम अधिकारी लगायतलाई संस्थाले सम्मान गरेको हो ।
कार्यक्रममा संस्थाका संरक्षक पुरुषोत्तम भट्टराई, डाक्टर दामोदर भुसाल, संस्थाका सल्लाहाकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा लगायतले बोल्दै भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गर्ने काम नै मानवीय धर्म भएको बताए ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र सचिव कविता पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)