बुटवल,मंसिर २९-
सरकारका गलतकामको बिरुद्धमानेपाली कांग्रेसले आज सोमवार देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनमा सहभागी हुन अधिकांश नेताहरू खटाएको जिल्लामा पुगेका छन् । देशका प्रमुख शहरमा हुने प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
भोलि सोमवारको प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभामा सहभागी हुनेछन् । महामन्त्री डा. शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर ७७ वटै जिल्लामा समन्वय गर्नेछन् ।
नेता अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन र गुरुराज घिमिरे खोटाङको कार्यक्रममा सहभागी हुनेछन् । रुपन्देहीको भैरहवामा कांग्रेस नेता सुरेन्द्र पाण्डे र अर्का नेता तथा लेखा समितिका सभापति भरत शाह लगायतले सम्बाेधन गर्नेछन् ।
प्रदर्शनको पूर्व सन्ध्यामा कांग्रेस सभापति देउवाले एक अपील प्रकाशित गरी सामाजिक दूरी कायम गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।
‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ अपीलमा देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।
सरकार प्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो ।
अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’
पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।
भैरहवामा प्रदर्शनको तयारी पुरा,१६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ता भैरहवामा आउने :

रुपन्देहीको सदरमुकाम भैरहवामा हुने प्रदर्शनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला सभापती अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ जानकारी दिए ।
‘हाम्राे सबै तयारी सकियाे, रुपन्देहीका सबै तहका ५० हजार मान्छे उतारेर सरकारकाेअधिनायकवाद र भ्रष्टाचारकाे बिराेध गर्छाैँ’ उनले भने । भैरहवाको बुद्धचाेकबाट कार्यक्रम शुरु भई विभिन्न स्थानको परिक्रमापछि पुन:बुद्धचाेकमा आएर सभामा परिणत हुने उनले बताए ।केन्द्रिय नेताहरु आइतबार नै रुपन्देही आईपुगेका छन्।
विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका १६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ताहरु भैरहवामा आउनेछन् ।वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका कामको भण्डाफोर गर्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।
लुम्बिनी प्रदेशको मुकाम रहेको रुपन्देहीमा हुने प्रर्दशनलाई निकै शशक्त बनाउन भन्दै प्रत्येक वडा सम्म भेला र वैठक गरिएको कांग्रेसका जिल्ला सचिव रामकृष्ण खांणले बताए ।
अनिवार्य मास्क प्रयोग गर्दै विरोध प्रर्दशन गर्न कांग्रेस रुपन्देहीले कार्यकर्ताहरुलाई सर्कुलर गरेको छ ।
यी खबरहरु पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)