बुटवल,असाेज ५ ।
राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी आन्दोलित बनेका छन् । राष्ट्रिय परीक्षा बोर्ड यस अघि स्वायत्त निकायको रुपमा सञ्चालनमा आएको भन्दै सोही अनुसारनै व्यवस्था हुनु पर्ने मागसहित उनीहरु आन्दोलित बनेका हुन् ।
नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संघीय संरचना अनुरुप व्यवस्थापन गर्नका संघीय सदनमा २०८० भाद्र २७ गते दर्ता गरेको शिक्षा सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति उनीहरु आन्दोलित बनेका हुन् ।
कानुनी व्यवस्थालाई परिमार्जन गरि बोर्डको स्वायतता मेटाउन खोजिएकोले विरोधमा आजदेखि हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।
राष्ट्रिय परिक्षा बोर्डको सञ्चालनका लागि यस अगाडि बनेको ऐन र नेपाल सरकारसँग विगतमा भएका सहमती अनुसार बोर्डमा कार्यरत अस्थायी कर्मचारीहरुलाई प्रक्रिया पूराई स्थायी गरिने र अन्य सैवा सुविधाहरु नियम अनुसार गर्ने बताएको भएता पनि प्रस्तावित ऐनमा कुनै कुरा उल्लेख नगरिएको भन्दै बोर्डमा कार्यरत कर्मचारीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश अवाले, राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियनका अध्यक्ष राजु ओलिया तथा राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
विज्ञप्तीमा उल्लेख भए अनुसार असोज ५ देखि ७ गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने, असोज ८ गते एक घण्टा सेवा बन्द गर्ने, दोस्रो दिन २ घण्टा, तेस्रो दिन ३ घण्टा सेवा बन्द गर्ने बताइएको छ ।
यसैगरी असोज १२ गते बोर्डको पदाधिकारी तथा परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गर्ने, १४ गतेदेखि देशभर सेवा ठप्प पार्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)