बुटवल,भदाै ९ ।
नेपाल सरकारले नि:शुल्क रुपमा खोप उपलब्ध गराएको छ । कुनैपनि खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्वास्थ्य स्वास्थ्यमा जानु पर्दछ ।
बच्चा जन्मिएपछि दम्पतीले खोप लगाउने कुरामा बेवास्ता गर्नुहुँदैन । एक बर्षभित्र विभिन्न रोग विरुद्धको खोप लगाउनुपर्छ । यसरी खोप लगाएपछि के हुन्छ त ?
बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।
स्वास्थ्य संस्थाले कतिपय खोप लगाउनुअघि त्यसको मिति तय गरेको हुन्छ । त्यसैले कुन दिन उक्त खोप लगाइने हो, सो बारे चासो राख्नुपर्छ । उपयुक्त समयमा नै खोप लगाउनुपर्छ ।

वि.सि.जी:
यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।
डि.पि.टी- हेप/ बि-हिब:
यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
पोलियो
पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
एफआइपीभी : यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखाला बिरुद्ध काम गर्छ ।
पि.सी.भी. :
यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
दादुरा-रुबेला :
यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
जे.ई:
यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।
टी.डी.:
यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)