बुटवल,मंसिर २५ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गौतम बुद्धका उपदेशको पालना गर्दै विश्वलाई नै निशस्त्रीकरणतर्फ लैजानुपर्ने बताएका छन् । हतियारको व्यापारले विश्वमा शान्ति कायम हुन नसक्ने भन्दै हरेकले अतिवाद त्यागेर अघि बढ्नुपर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषय गोष्ठीको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अतिवादकै कारण मुलुकहरु द्वन्द्वमा फसेको बताए ।
‘एउटाले अर्काको अस्थित्व नस्विकार्ने परिपाटी कायम छ, यसलाई त्याग्नुपर्छ, उनले भने,–‘अर्बाै रुपैया खर्चेर हतियारमा बलियो हुने दौड रोक्नुपर्छ ।
गरिवी निवारण र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ ।’ बुद्धका उपदेश पालना गरे विश्व शान्ति कायम हुन सक्ने उनले बताए । गौतम बुद्ध नै मानवअधिकारको पहिलो प्रणेता रहेको मन्त्री ज्ञवालीले बताए ।
मोरङमा भएको शिक्षक हत्याको प्रसंगमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकलाई अशान्त बनाउने योजना सफल नहुने बताए ।क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्विकार नहुने भन्दै उनले सरकारले यस्ता गतिबिधिलाई निस्तेज पार्ने दाबि गरे ।
मन्त्री ज्ञवालीले बुद्ध शिक्षाको अवलम्बन गर्दै विश्वलाई नै निशस्त्र बनाउने अभियान जरुरी रहेको बताए । ‘अहिले कोरोना भाइरस विरुद्धको खोप जुटाउन कम विकसित मुलुकलाई ठूलो चुनौति छ, तर ठूला राष्ट्रहरुले हतियारमै अर्बाै खर्चिरहेका छन्, उनले भने । अतिवादलाई त्यागेर हतियारको शक्तिको दौड रोक्नुपर्ने उनले बताए ।
नेपाली जनताहरु शान्ति र समृद्धिको पक्षमा रहेको मन्त्री ज्ञवालीले बताए । मुलुकलाई अशान्ततर्फ धकेल्ने प्रयास सफल नहुने बताए । शान्ति र अंहिसाको शिक्षा दिने बुद्धकै मुलुकमा यस्ता घटना स्विकार्य नहुने भन्दै सरकारले त्यस्ता क्रियाकलाप निस्तेज पार्ने बताए ।
मानवअधिकारका पूर्ण प्रत्याभूति दिलाउन सरकार लागिरहेको भन्दै कतिपय चुनौतिहरु कायम रहेको उनले बताए । ‘विकास र शुसासनसंग जोडेर मानवअधिकारका व्यवस्थाहरु कार्यान्वयन भइरहेका छन, उनले भने । उनले परराष्ट्र नीति निर्माणमा समेत बौद्ध दर्शनलाई आत्मसाथ गरिएको बताए ।
सो अवसरमा मानवअधिकार आयोगका पूर्व सदस्य शुशिल प्याकुरेलले बुद्धले २६ सय वर्षअघि नै समाजको विभेदको विरुद्धमा बोलेको बताए । ‘मानव, प्राणी सबै समान छन भन्ने कुरा बुद्धले उहीले भन्नुभएको थियो, त्यसलाई अंिगकार गर्न धेरै ढिलो भइसकेको छ, उनले भने ।
मुलुकको परराष्ट्र नीतिमा बौद्ध शिक्षालाई आधार बनाइएको उनले बताए । विश्वले नै बुद्धका शिक्षा अंगिकार गर्नुको विकल्प नभएको बताए । अहिलेको मुख्य समस्या भनेको विभेद र हतियारको दम्भ रहेको उनले बताए ।
बौद्ध अध्येता डा. त्रिरत्न मानन्धर गौतम बुद्धले तत्कालीन जातीय विभेदको विरोध गर्दै सबै मानव एक रहेको बताएको बताए । ‘मान्छे जन्मका आधारमा नभई कर्मका आधारमा बिशिष्ट हुने कुरा उहिले नै साबित गर्नुभएको थियो, उनले भने ।
प्राध्यापक भिक्षु संकिच्क्षले बुद्धका शिक्षा पालनाले मात्रै विश्व शान्तितर्फ उन्मुख हुने बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य बौद्ध शिक्षाको विश्वव्यापीकरणले नै शान्तितर्फ केन्द्रीत गर्ने बताए । बौद्ध विश्वविद्यालयले बौद्ध शिक्षालाई जनमानसमा पुराउन अध्ययन अध्यापन र अनुसन्धानमा जोड दिएको बताए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले संयुक्त राष्ट्रको घोषणापत्रदेखि मुलुकको संविधानमा बुद्ध शिक्षाका प्रभाव रहेको बताए । मैत्री, करुणा, अहिंसालाई मानवअधिकार र संविधानका दफामा रहेको उनले बताए ।
‘बौद्ध विश्वविद्यालयले पनि घरघरमा बौद्ध शिक्षा पुराउनका लागि काम गरिरहेको छ, उनले भने,–‘हरेक विषय अध्यापनमा बुद्धिज्मलाई अनिवार्य गर्नु त्यसको ध्येय हो ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)