बुटवल,असार ३० ।
लुम्बिनी प्रदेशमा असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या सबैभन्दा बढि देखिएको छ ।
आर्थिक वर्ष २०७९-८० मा नेपालमा भएको कुल गर्भपतन मध्ये २० प्रतिशत लुम्बिनी प्रदेशमा भएको छ । त्यसमा पनि २० वर्ष मुनिका महिलाको संख्या ६ प्रतिशत छ । यो संख्या अघिल्लो वर्ष २५ प्रतिशत थियो ।
असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा १५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा २०७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ ।
सोसाईटी अफ हेल्थ केयर जर्नालिष्ट र हेल्थ टुडे मिडियाले शुक्रबार बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराउनुभयो । सुरक्षित मातृत्वको लागि सरकारले धेरै प्रयास पनि गरेको छ तर पनि यो तथ्यांकले मृत्युको संख्या न्यूनिकरण गर्नको लागि चुनौती रहेको सूचना अधिकारी शर्मा बताउनु हुन्छ ।
सोसाईटी अफ हेल्थ केयर जर्नालिष्टका महासचिव तथा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले नेपालमा कुल गर्भवती महिलामध्ये २० प्रतिशतले गर्भपतन गराउने र ९ प्रतिशत आफै (मिस क्यारियज) हुने तथ्यांक प्रस्तुत गर्नुभयो । त्यसमा पनि ३५ देखि ४४ वर्ष उमेरका महिलाको धेरै छ । अर्कोतर्फ २-३ वटा सन्तान भईसकेपछि गर्भपतन गराउनेको संख्या पनि धेरै छ ।
पाठेघर खुकुलो हुने महिलाको स्वत गर्भपतनको सम्भावना बढी हुन्छ ।स्त्री रोग विशेषज्ञ डा. सतिस रुपाखेतीका अनुसार अनधिकृत औषधिको प्रयोग, गर्भवती महिलाले मदिराको प्रयोग, नसाको रोगमा प्रयोग गरिने औषधिको प्रयोग जस्ता कारणले गर्भपतन हुन्छ । त्यस्तै ४० वर्ष पछिको उमेर तथा पहिले एक दुई पटक गर्भपतन गरेका महिलामा पनि आफै गर्भपतन (मिस क्यारियज) हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले स्वास्थ्य सबै नागरिकको जीवनसंग जोडिएको विषय भएकाले यस्तो जटिक कुरामा कसैले पनि खेलवाड गर्न नहुने भनाई राख्नुभयो ।उहाँले नियमनकारी निकायले नियमन, अनुगमन र मुल्यांकनको पाटोलाई संगसंगै अगाडि बढाउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुरज भट्टराई, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी नर्सिङ ईञ्चार्ज तथा सुरक्षित गर्भपतन सेवाकी कोर्डिनेटर पुतला खनाल, पत्रकार खिमानन्द भट्टराई, महेन्द्र थापा, रेखा भुसाल लगायतले बाेल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)